काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संवेदनशील विषयमा आरोप र शंकाका आधारमा धारणा बनाउनुको सट्टा तथ्य र प्रमाणका आधारमा बहस गर्नुपर्ने बताएका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सञ्चारमाध्यममा आएका विषय, आरोप, अदालतमा विचाराधीन मुद्दा वा कसैले बयानका क्रममा नाम लिएको विषयलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने बताए ।
संवेदनशील विषयमा प्रश्न उठाउँदा सम्बन्धित व्यक्तिसँगै राज्यका संवैधानिक निकाय र संस्थाको प्रतिष्ठालाई समेत ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
‘आवाज ठूलो हुँदैमा तथ्य ठूलो हुने होइन । प्रमाणहरू यति बलियो होऊन् कि हामीले मुख रातो पारेर प्रश्न गर्न नपरोस्, प्रमाण देखेर आउनेहरूको मुख रातो होस्,’ उनले भने ।
समितिमा प्रस्तुत हुने विषय तथ्य, प्रमाण, कानुन र संविधानका आधारमा राख्नुपर्ने लामिछानेले बताए । समितिको गरिमा कायम राख्दै प्रस्तुत गरिएका विषयलाई पछि चुनौती दिन नसक्ने गरी तथ्यपरक ढङ्गले छलफल गर्नुपर्ने उनको भनाइ थियो ।
संविधान संशोधनका लागि प्रतिनिधि सभामा दुई तिहाइ बहुमत मात्र पर्याप्त नहुने पनि उनले स्पष्ट पारे । यसअघि राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधनका लागि आवश्यक दुई तिहाइ पुर्याउन आफूहरू तयार रहेको बताएका थिए ।
शाहीको भनाइप्रति प्रतिक्रिया दिँदै लामिछानेले भने, ‘प्रतिनिधि सभामा दुई तिहाइ पुग्दैमा संविधान संशोधन गर्दैनौँ भन्ने त पक्कै पनि होइन, त्यो हामी सबैलाई थाहा छ । संविधान संशोधनका लागि प्रतिनिधि सभाको मात्र दुई तिहाइले हुन सक्दैन । यी लगायतका कुरालाई हामीले अवश्य ध्यान दिनुपर्छ ।’
सरकारलाई आवश्यक सहयोग गर्ने विषयमा आएको सकारात्मक धारणा स्वागतयोग्य रहेको उनले बताए । संवैधानिक निकायमा नियुक्तिको प्रक्रिया संविधानमा व्यवस्था भएअनुसार अधिकतम योग्यताका आधारमा अघि बढाउनुपर्नेमा उनले जोड दिए ।
कुनै व्यक्तिसँग असहमति वा विवाद भएकै आधारमा संवैधानिक संस्था र त्यसको नेतृत्वमाथि निरन्तर प्रश्न उठाउँदा संस्थाको गरिमा र विश्वसनीयतामा असर पर्न सक्ने लामिछानेले बताए ।
लोकतन्त्रका आधारस्तम्भका रूपमा रहेका संस्थालाई व्यक्तिप्रतिको असन्तुष्टिका कारण कमजोर बनाउन नहुने उनको भनाइ थियो । संवैधानिक संस्थाको विश्वसनीयता शून्यमा पुगे लोकतान्त्रिक प्रणाली नै कमजोर हुने उनले बताए।