काठमाडौँ । नेकपा (एमाले) बर्दिया जिल्ला कमिटीले पार्टीको जिम्मेवारीमा रहेका चार जिल्ला कमिटी सदस्य तथा एक पूर्व जिल्ला कमिटी सदस्यलाई पार्टीको साधारण सदस्यतासमेत समाप्त हुने गरी निष्कासन गरेको जनाएको छ।
कारबाहीमा पर्नेमा जिल्ला कमिटी सदस्य रामसिंह थारु, बालकृष्ण लामिछाने, मुना लामिछाने र कपिल ज्ञवाली रहेका छन्। त्यस्तै, पूर्व जिल्ला कमिटी सदस्य तथा प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हालिसकेका धर्मराज थापालाई पनि पार्टीले निष्कासन गरेको हो।
एमालेका अनुसार सम्बन्धित नेताहरूले पार्टीको जिम्मेवारीमा रहँदै अन्य राजनीतिक दलसँग आबद्ध भएको तथा त्यस दलको पक्षमा गतिविधि सञ्चालन गरेको भन्ने सूचना र प्रमाणका आधारमा अनुशासनात्मक कारबाही गरिएको हो। उनीहरूमध्ये केहीले संगठन विभाग र स्वास्थ्य विभागलगायत विभिन्न विभागीय जिम्मेवारीसमेत सम्हालिरहेका थिए।
पार्टी स्रोतका अनुसार ती नेताहरू आन्तरिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भइसकेको निष्कर्ष निकालिएको छ। एमालेले फागुन २१ मा सम्पन्न निर्वाचनअघिदेखि नै उनीहरूले रास्वपालाई सहयोग गरेको सूचना प्राप्त भएको दाबी गर्दै त्यसैका आधारमा कारबाही अघि बढाइएको जनाएको छ।
कपिल ज्ञवालीले निर्वाचनअघि रास्वपाबाट उम्मेदवार बन्न आन्तरिक रूपमा दाबी प्रस्तुत गरेका थिए। पछि उक्त दलबाट ठाकुरसिंह थारुले उम्मेदवारी पाएपछि आफू एमालेमै रहेको दाबी गरेका थिए। तर रास्वपाको महाधिवेशनमा सहभागी भएको देखिने तस्बिर सार्वजनिक भएपछि कारबाही टार्न नसकिने अवस्था बनेको एमालेका नेताहरूको भनाइ छ।
जिल्ला अध्यक्ष शालिकराम अधिकारीले सम्बन्धित व्यक्तिहरू अन्य दलमा प्रवेश गरेको तथा पार्टीको हितविपरीत गतिविधिमा संलग्न रहेको पुष्टि हुने सूचना र प्रमाण प्राप्त भएपछि पार्टी विधानअनुसार उनीहरूको साधारण सदस्यता समेत समाप्त हुने गरी निष्कासन गर्ने निर्णय गरिएको जानकारी दिएका छन्।