
काठमाडौं, ६ कात्तिक । गत असोज ११ र १२ गते परेको भारी वर्षापछिको बाढीले बगाएको बीपी राजमार्ग अन्तर्गत सिन्धुली-रामेछाप जोड्ने बेलिब्रिज २४ दिनपछि सञ्चालनमा आएको छ ।
सुनकोशी नदीको बाढीले रामेछापतर्फ जोड्ने बेलिब्रिजको एउटा खण्ड बगाएको थियो । बगाएको खण्डमा प्राविधिक एवम् नेपाली सेनाको टोलीले २४ दिनमै बेलिब्रिज निर्माण गरेर पुनः सञ्चालनमा ल्याएका हुन् । पुलमा मंगलबारदेखि सवारीसाधन सञ्चालन आएका छन् ।
नेपाली सेनाले सुनकोशी नदीमा एमपिबी (मोडुलर प्यानल ब्रिज) राखेर सिन्धुली र रामेछाप जिल्लालाई जोडेको थियो । निर्माण सम्पन्न भएपनि पुलको मुखमा ढलान गरिएकाले यातायात सञ्चालन भने भएको थिएन ।
बाढीले मन्थली, रामेछापतर्फको एउटा भाग बगाएपछि सडक सम्पर्क पूर्णरुपमा टुटेको थियो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मंगलबार बेलिब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाको टोलीलाई सम्मान गरेपछि पुल पुनः सञ्चालनमा ल्याइएको हो ।
तस्बिरहरू