एजेन्सी, २७ भाद्र । अभिनेत्री मलाइका अरोराका बुबा अनिल अरोराको मुम्बईमा टेरेसबाट खसेर मृत्यु भएको छ ।
अनिल अरोरा बान्द्राको एक आवासीय सोसाइटीको सातौं तलामा बस्थे । अनिल अरोराको मृत्युपछि मलाइका अरोराका पूर्व पति अरबाज खान प्रहरीसँगै घटनास्थल पुगेका थिए ।
६५ वर्षीय अनिल अरोराले मुम्बईको बान्द्रास्थित आफ्नो अपार्टमेन्ट भवनबाट हाम फालेका थिए ।घटना बुधबार बिहान स्थानीय समय अनुसार ९:०० बजेको हो ।
घटना लगत्तै प्रहरी उनको फ्ल्याटमा पुगेर यो मृत्यु दुर्घटना हो वा आत्महत्या हो भन्ने बारे अनुसन्धान गरिरहेको जनाइएको छ ।
घटनाका बेला मलाइका अरोरा पुणेमा थिइन् र उनी मुम्बई पुगेकी छन् ।
मलाइका अरोराको जन्म महाराष्ट्रको ठाणेमा भएको थियो । उनी ११ वर्षकी हुँदा उनका आमाबाबुको सम्बन्धविच्छेद भयो र उनी आफ्नी आमा र बहिनी अमृता अरोरासँग चेम्बुरमा सरिन्। उनकी आमा, जोयस पोलीकार्प, एक मलयाली ईसाई हुन् र उनको बुबा, अनिल अरोरा, एक पञ्जाबी थिए, जसले भारतीय मर्चेन्ट नेवीमा काम गर्थे।