
काठमाडौं । नेपाल प्रहरीले उपलव्ध गराएको विगत पाँच आर्थिक वर्षमा जबरजस्ती करणीमा परेका महिला तथा बालिकाहरूको तथ्याङ् हेर्नेहो भने औसतमा छ जना जबरजस्ती करणीमा पर्ने गरेका छन् ।
तीमध्ये पनि हाडनातामा भएको जबरजस्ती करणीको ग्राफ प्रत्येक वर्ष बढ्दै गइरहेको छ । नेपाल प्रहरीले हाडनातामा विभिन्न नौ वटा शीर्षकमा जबरजस्ती करणीमा पर्नेहरूको तथ्याङ्क राख्ने गरेको छ ।
आर्थिक वर्ष ०७४/७५ देखि चालु आ.व सम्ममा हजुरबुवाबाट ६८ जना बालिकाहरू करणीमा परेका छन् भने बुवा/झड्केलो बुवाबाट २६६ जना करणी परेका छन् । त्यस्तै ससुराबाट करणीमा परेको भन्दै ४६ महिलाहरू प्रहरीमा पुग्दा काका/मामा/ठूलो बुवाबाट करणीमा परेकाहरूको सङ्ख्या १९३ रहेको छ ।
दाजु / भाई /काका, ठुलोबुबाको छोरा/मामको छोराबाट २१३ जना करणीमा पर्दा देवर जेठाजुबाट करणीमा पर्नेहरूको सङ्ख्या ८८ रहेको छ । त्यस्तै वैवाहिक बलात्कारमा परेको भन्दै १४३ जना महिलाहरूले प्रहरीमा उजुरी दिएको तथ्याङ्कले देखाउँछ ।
आर्थिक वर्ष ०७४/७५ मा १३७ जना आफन्तबाटै बलात्कृत हुँदा आ.व ०७५/७६ मा उक्त सङ्ख्या बढेर १६७ पुगेको थियो भने यो पाँच वर्षको अवधिमा आ.व ०७७/७८ मा यो सङ्ख्या ३१५ पुगेको नेपाल प्रहरीको तथ्याङ्कले देखाउँछ ।
अघिल्लो आ.व मा २३९ जना आफ्न्तबाटै जबरजस्ती करणीमा पर्दा ०७६/७७ मा १८५ जना करणीमा परेका थिए ।
के हो झड्केलो बाबु भनेको ?
उदाहरणको लागि सीता नाम गरेकी कुनै एक महिलाको श्रीमान् विते वा अन्य कारणले उनले राम नाम गरेको दोस्रो पुरुषसँग विवाह गरिन् । सीताको पहिलो श्रीमानको तर्फबाट एक गौरी नाम गरेकी छोरी थिइन् । सीताले रामसँग विवाह गर्दा गौरीलाई पनि साथ लिएर आएकी थिइन् ।
नाता अनुसार राम गौरीको झड्केलो बाबु हुन् । सिधा भाषामा भन्नुपर्दा गौरीका जन्मदिने बाबु राम हैनन् तर कर्मदिने बाबु उनी हुनसक्छन् । यदी रामले गौरीमाथि जबरजस्ती करणी गरेको खण्डमा यसलाई झड्केलो बाबुबाट करणी भएको बुझिन्छ ।
केटिएम दैनिकले प्रत्येक वर्ष फेब्ररी ७ देखि १४ सम्म बलात्कार बिरुद्धको अभियान सञ्चालन गर्दै आएको छ । माथि उल्लेखित फिचर वर्ष ३ को पहिलफ समाचार हो ।