
दाङ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई शुक्रबार दिउँसो पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-३ गैराखुट्टी बस्ने २३ वर्षीय माधव गुरूङ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
गुरूङले ती बालिकालाई साउन ५ गते ललाई फकाई पीडितकै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका गुरूङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरका बालिका/किशोरीहरूलाई उनीहरूकै सहमतिमा शारीरिक सम्बन्ध राखेता पनि उक्त सम्बन्धलाई जबरजस्ती करणी ठहर गर्दै पीडितको उमेर र परिस्थिति हेरेर कैद सजाय/ दण्ड/जरिवाना तोकेको छ ।
मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ३ (ग) का अनुसार चौध वर्ष वा चौध वर्षभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई जबरजस्ती करणी गर्नेलाई बाह्र वर्षदेखि चौध वर्षसम्म कैद सजाय तोकिएको छ ।