तानसेन । पाल्पामा एक १३ वर्षीया नाबालिगमाथि जबरजस्ती करणी भएको छ ।
बुधबार बिहान जिल्लाको तानसेन नगरपालिका-७ बाहुनटोलमा डेरा गरी बस्ने बर्ष ३१ को कमल सुनारले बर्ष १३ की बालिकालाई आफ्नै डेरामा जबरजस्ती करणी गरेको भन्दै पीडित बालिकाको हजुरआमाले बिहीबार प्रहरीमा जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो ।
प्रहरीमा लिखित जाहेरी परेपछि आरोपित सुनारलाईलाई नियन्त्रणमा लिइएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले केटिएम दैनिकलाई बताए ।
नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरका बालिकाहरूलाई उनीहरूकै मञ्जुरीमा शारीरिक सम्वन्ध राखेतापनि उक्त सम्वन्धलाई बलात्कार ठहर गर्दै पीडितको उमेर र परिस्थिति अनुसार सजायँ र जरिवाना तोकेको छ ।
मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (३) (ख) अनुसार दश वर्ष भन्दा बढी र चौध वर्षभन्दा कम कम उमेरकी बालिकामाथि जबरजस्ती करणी गर्नेलाई अठार वर्षदेखि बीस वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।