झापा जिल्लाको कन्काई नगरपालिका-४ मा ६ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
बारा जिल्ला घर भई सोही स्थानमा बस्ने १९ वर्षीय सामहम्द अन्सारीलाई करणीको अभियोगमा शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सामहम्दले ती बालिकालाई शुक्रबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस विषयमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताए ।
त्यस्तै ललितपुरमा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-५ लेले बस्ने ३४ वर्षीय ईन्द्र नगरकोटीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईन्द्रले ती महिलालाई गत बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका नगरकोटीमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।