
काठमाडौं । टर्कीमा भूकम्प पश्चात पुन:निर्माणको काममा नेपालबाट कामदार माग भएको भन्दै तीसजना युवायुवतीबाट करौडौं रकम ठगी गर्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मासिक एक हजार चार सय अमेरिकी डलर तलब हुने र उक्त तलब यू.एन. ले दिने भन्दै सोझासाझा नेपाली युवायुवतीबाट एक करोड पन्ध्र लाख बढि रकम लिएर ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पोखराबाट एक महिलालाई नियन्त्रणमा लिएको हो ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार ठगीमा संलग्न पोखरा महानगर-५ लेखनाथ टोल बस्ने ३२ वर्षीया सुरुची भुजेललाई ब्यूरोबाट खटिएको टोलीले शनिबार पोखराबाट पक्राउ गरेको हो ।
पोखराबाट पक्राउ परेकी भुजेललाई काठमाडौं जिल्ला अदालत बबरमहलबाट सात दिनको म्याद थप गरेर ठगी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
भुजेलले ४२ वर्षीय बिनोद श्रेष्ठसँग मिलेर यो काम गरेको प्रहरीको दाबी छ ।
गत असार अन्तिमतिर रोजगारीका लागि युरोपेली मुलुक टर्की पठाउने भन्दै श्रेष्ठले झण्डै दुई सय युवायुवतीबाट पाँच करोड ठगी गरेर सम्पर्कबिहिन भएको भन्दै पीडितहरूले पत्रकार सम्मेलन गरेका थिए ।
टर्की जाने भन्दै ठगीमा परेका अन्य व्यक्तिहरू भए सीआईबीको सम्पर्कमा आउन प्रहरीले अनुरोध समेत गरेको छ ।