मोरङ सुन्दरहरैँचा नगरपालिका–७ गणेशपुरमा डेरा गरेर बस्ने राजकुमार मण्डल साइकलको पाइडल घसार्दै फ्याक्ट्रीमा काम गर्न सुनसरीको सोनापुर धाउँछन् । सोनापुरस्थित जानकी पोलिट्याङ्क उद्योगमा सेक्युरिटी गार्डका रूपमा काम गर्ने राजकुमारको ‘नाइट ड्युटी’ हुन्छ । बेलैमा पुग्नका लागि उनी घरबाट अपराह्न ४ बजेतिर उद्योगतिर लाग्छन् । फर्किँदा बिहान हुन्छ ।
दैनिक करिब २८ किलोमिटर कच्ची बाटो साइकल दौडाएर उनी घर र उद्योग आवतजावत गर्छन् । यो उनको विगत एक वर्षयताको रोजाना हो । सुरक्षा गार्डका रूपमा काम गरेर नै आफूसहित ६ जनाको परिवारको जीविको धान्दै आएका राजकुमार अरू दिनझैँ शुक्रबार राति पनि काम गर्न सोनापुर आए ।
४ बजेतिर ‘टिफिन’ साइकलको पछाडि बाँधेर उनी ओरालो झरे । सधैँ काम गर्ने ठाउँ पुगेपछि उनी काममा जुटे । बेलुकी ६ः५० बजे उनलाई घरबाट फोन आयो । कान्छी छोरी करिश्मादेवी बिरामी भएको जानकारी पाए । ‘म काम गरिरहेको बेलामा घरबाट फोन आयो,’ उनले केटिएम दैनिकसँग भने, ‘म त उसलाई भूतसूत लाग्यो भनेर खासै डराइनँ । तर यौनाङ्गबाट रगत बगेको भनेर कसैले भन्यो । साइकल छोडेर गाडीमा घर पुगेँ ।’
राजकुमार घर पुगेपछि उनले आफ्नो घरवरिपरि प्रहरीहरू जम्मा भएका देखे । घरबाट अन्दाजी १५० मिटर उत्तरपश्चिम दिशामा रहेको बनमारा र बयर घारीसमेत रहेको स्थानमा प्रहरीको हुल थियो । तर उनकी छोरीलाई गछियास्थित स्थानीय अस्पतालमा उपचार गराएर थप उपचारका लागि विराटनरको नोबेल मेडिकल शिक्षण अस्पताल लगिएको थियो ।
उनी रनभुल्लमा परे । जुन छोरीलाई करिब तीन घण्टाअगाडि चुमेर उनी कामतिर लागेका थिए । उनै छोरीको भविष्यका लागि गन्हाउने प्लास्टिक फ्याक्ट्रीको दूषित् गन्धसहितको धुँवा खाइरहेका थिए, राजकुमार । तर उनै छोरीलाई अन्तिम पटक हेर्न पाएनन्, उनले । ‘मेरो त बाँच्ने आधार नै गुम्यो,’ उनी भावुक हुँदै भन्छन्, ‘मेरी छोरी करिश्मालाई दैवले चुँड्यो । मेरी छोरीलाई करणी गर्नेहरूलाई कडा कारबाही होस् ।’
राजकुमारका तीन छोरी र एक छोरासहित चार सन्तान थिए । जसमध्ये १८ महिने कान्छी छोरी करिश्मा शुक्रबार साँझ साढे ५ बजे घरैबाट हराएकी थिइन् । करिश्माकी आमा घरकै बरन्डामा थिइन् । परिवारका अन्य सदस्य त्यतैवरपर थिए । तर करिश्मा एकाएक हराएपछि उनीहरू खोजी गरे । एक घण्टा खोजेपछि अर्धचेत अवस्थामा रहेकी करिश्मालाई घरनजिकै झाडीमा फेला पारे ।
करिश्मा सुरुवाल खुल्लै रहेको अवस्थामा फेला परेकी थिइन् । उनको टाउकोको दाया–बाँया सुन्निएको, योनीमा केही रगत जस्तो देखिने पदार्थ आएको थियो । अर्धचेत अवस्थामा फेला परेकी करिश्मालाई तत्काल गछियास्थित स्थानीय अस्पतालमा लगेर उपचार गराई थप उपचारार्थ नोबेल अस्पताल विराटनगर ल्याएका थिए ।
उपचारका क्रममा शनिबार राति १ बजे उनको मृत्यु भएको थियो । करिश्माको अन्तिम संस्कारमा उनका परिवार भक्कानिए । घटना देखिरहेका सबैका आखा रसाए । ‘बिचरी त्यति सानी बच्चीमाथि त्यस्तो घटना भयोे,’ स्थानीय विश्व निरौला भन्छन्, ‘उनका बाबुआमाले अनेक सङ्घर्ष गरेका थिए । यो घटनाले हामी सबैलाई त्रासदी दिएको छ ।’
अहिलेसम्म आमाको होस खुलेको छैन । राजकुमारका छोरा केही समययता बिरामी छन्, दुई छोरीमध्ये एक जना शारीरिक अपाङ्गता भएकी छन् । उनी बोल्न–सुन्न सक्दिनन । काममा नगएपछि राजकुमारलाई आफूसहित पाँच जनाको जीविको धान्न धौ–धौ भएको छ । गाउँका केही महिलाहरूको समूहले चन्दा उठाएर उनलाई सहयोग गरिरहेका छन् ।
दुई अभियुक्त पक्राउ
करिश्माको बलात्कारपछि हत्या गर्ने स्थानीय २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई इलाका प्रहरी कार्यालय बेलबारीले शनिबार बिहान घरबाटै पक्राउ गरेको थियो । बेलबारीका प्रहरी निरीक्षक सरोज खनाल भन्छन्, ‘अभियुक्तलाई छोटो समयमै पक्राउ ग¥यौँ । उनीहरूले केही प्रमाण लुकाएका रहेछन्, केही प्रमाण घटनास्थलै फेला पारेका थियौँ । जसको माध्यमबाट अभियुक्तसमक्ष पुग्यौँ ।’
शुक्रबार साँझ गाँजा सेवन गरेर बलात्कार गरेपछि उनीहरूले सिसाको बोत्तल र ढुङ्गा प्रहार गरी करिश्माको हत्याको प्रयास गरेका थिए । त्यसपछि अर्धचेत अवस्थामा रहेकी उनलाई झाडीमा फालेर फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार (हिजो) दिउँसो पत्रकार सम्मेलन गरी अजय र मिथुनलाई सार्वजनिक गरेको थियो । घटनामा संलग्न दुवै दाजु–भाइ हुन् । मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार हत्या आरोपी दुवै लागुऔषध प्रयोगकर्ता हुन् ।
पक्राउ परेका उनीहरूविरुद्ध अनुसन्धानका लागि आइतबार नै अदालतबाट म्याद थप भएको थियो । अजय दुई वर्षअघि बालिका अपहरण गरेको घटनामा संलग्न रहेको खुलेको छ । उनी कैद भुक्तान गरी गएको मङ्सिरमा मात्र छुटेका थिए ।
एसपी जिसीका अनुसार बालिका र आरोपितको घर डेढ किलोमिटरको दूरीमा पर्छ । अजयकै योजनामा दाजुभाइ मिलेर यस्तो अपराध गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अजयले करिब डेढ महिना अघिदेखि नै बालिकालाई निगरानी गरेको देखिएको एसपी जिसीको भनाइ छ । गाँजा खाएपछि अजय स–साना बालिकाको खोजी गर्दै हिँड्ने गरेको अनुसन्धानबाट खुलेको उनले बताए ।
यसरी भएको थियो घटना
शुक्रबार दिँउसो ३ बजे अजय चौधरी गछिया खोलामा बालुवा चाल्दै गरेका थिए । उनका दाइ मिथुन पनि त्यहीँ पुगे । केही समयको गफगाफपछि केरा बगानमा गएर उनीहरू दुवैले गाँजा सेवन गरे । गाँजा सेवनपछि अजयले पहिला पनि घरमा एक्लै देख्ने गरेको हुँदा तँ यही बस्दै गर म सो घरमा गई बच्चा भेटेँ भने लिएर आउँछु भनेर हिँडे ।
गाँजा सेवन गरेर १८ महिने बालिकालाई बलात्कार, बालिका रुएपछि बोत्तल र ढुङ्गा प्रहार !
मोरङ सुन्दरहरैँचा नगरपालिका–७ गणेशपुरकी १८ महिने नाबालिकाको हत्या आरोपमा प्रहरीले दुई...
आइतबार, फाल्गुन २९ २०७८ती बालिका घरको छेउमा एक्लै खेल्दै गरेको देखेपछि वरिपरि कोही पनि नभएको मौका छोपेर अजयले उनलाई बोकेर बनमारा झाँडीमा ल्याएका थिए । अजयले बालिकाले लगाएको सुरुवाल खोली करणी गरेका थिए । करणीका क्रममा बालिका रुन थालेपछि भने उनको टाउकोमा बियरको बोतल तथा ढुङ्गा प्रहार भएको थियो ।
बालिका अर्धचेत भएपछि मिथुनले समेत करणी गरेका थिए । पक्राउ परिने डरले मिथुनले बालिकामाथि प्रहार भएको बियरको बोतल र दुईवटा ढुङ्गा घटनास्थलदेखि केही उत्तरपश्चिममा फालेका थिए । जसको माध्यमबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।