मोरङको लेटाङ नगरपालिकामा १२ वर्षीया बालिका बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका अभियुक्तको घरमा आगो लगाइएको छ । पीडित पक्षले सोमबार लेटाङ–८ का ६४ वर्षीय दीपक गिरीको घरमा आगो लगाइदिएका हुन् ।
वडाध्यक्ष भीमप्रसाद पोखरेलका अनुसार आक्रोसित बनेर गिरीको घरमा पुगेको २५–३० जनाको समूहले आगो लगाइदिएका हुन् । आरोपी हिरासतमा रहेका बेला खाली घरमा पीडित परिवारले आगो लगाएको उनको भनाइ छ ।
गिरी लेटाङ–८ ज्यामिरेकी करुणा राईको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेका आरोपमा पक्राउ परेका गिरीविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा चलाउन घटनाको अनुसन्धान गरिरहेको छ ।
आर्थिक अवस्था कमजोर रहेका गिरी सुकुम्बासी हुन् । नगरपालिकासँग सहयोग लिएर र आफैँ रकम सङ्कलन गरेर स्थानीय युवा अभियन्ताले उनको घरको छेउमै नयाँ घर पनि बनाइदिँदै थिए । गिरीकी पत्नीको एक महिनाअघि मृत्यु भएको थियो । उनका एक छोरा र एक छोरी छन् ।
जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत ती बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा उनी पक्राउ गरेका थिए । उनले स्कुलबाट फर्किँदै गरेकी ती बालिकालाई जबरजस्ती करणी गरेका थिए । करणीपछि बालिकाले आफूमाथि भएको घटना बुबालाई भन्दिन्छु भन्दै दौडिएपछि पोल खोल्न सक्ने डरले गिरीले घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।
बालिकाको घरदेखि तीन किलोमिटर दक्षिण लेटाङ नगरपालिका– ८ लाल हिरा सामुदायिक वनमा शव ढुङ्गाले छोपी मृतावस्थामा फेला परेको थियो । बालिकाको हत्यापछि शवलाई ढुङ्गाले छोपेका गिरीले उनले लगाएको कपडा गिरीले आफ्नो घर छेउको खोल्सोमा जलाएका थिए ।
स्कुलको लोगो रहेको बेल्टको बक्कल र कडी, जुत्ताको सोलको भाग, ज्याकेटको बटमहरू, फरकको खिपहरू खरानीको थुप्रोमा डढेको अवस्थामा र नजिकै लाइटरसमेत फेला पारेको थियो । तर सोधपुछका क्रममा उनले हालैमात्र मृत्यु भएकी पत्नीका कपडा जलाएको बताएका थिए । पछि ती सामानहरू भेटिएपछि भने घटनाको पोल खुलेको थियो ।