मोरङको सुन्दरहरैँचा नगरपालिका–४ बलियाको श्रेष्ठ होटेल एन्ड फेमिली लजमा गत माघ ७ गते महिलामाथि भएको सामूहिक बलात्कार घटनामा संलग्न तीन जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।
होटल सञ्चालक सुन्दरहरैँचा नगरपालिका–४ का ३५ वर्षीय अर्जुन भनिने हिमकुमार श्रेष्ठ, उनका भाइ २५ वर्षीय सुरज श्रेष्ठ र झापाको मेचीनगर नगरपालिका–३ का २७ वर्षीय रामबहादुर नेपाली भनिने सुधान्सु दर्जीविरुद्ध जिल्ला अदालत मोरङमा करणी मुद्दा दर्ता भएको हो ।
उनीहरूलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले केटिएम दैनिकलाई जानकारी दिए । उनका अनुसार प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय मोरङले अभियोगपत्र तयार गर्दै अभियुक्तहरूविरुद्ध मङ्गलबार मुद्दा दायर गरेको हो ।
मुद्दाको थुनछेक बहसका लागि आज (बुधबार) गोलाप्रथाबाट इजलासको टुङ्गो लगाइने छ । अभियुक्तहरुसँग अदालतले बयान लिएपछि वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस हुने बुढाथोकीले बताए ।
गत माघ ७ गते शुक्रवार साँझ सुनसरीको इटहरीबाट बहिनीको घर जाँदै गरेकी बेलबारी नगरपालिका–४ की ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको थियो । आफ्ना दुई छोरा र दुई छोरीका साथ सुन्दरहरैँचा गछियास्थित आफ्नी बहिनीकोमा बस्दै आएकी उनी इटहरीस्थित एउटा घरमा काम गर्थिन् । काम थालेको पहिलो दिन काम सकेर बहिनीको घरमा फर्कँदै गरेकी उनले बाटो बिराएकी थिइन् ।
गछिया चोकमा उत्रिएर अर्को एउटा गाडीमा रहेका रामबहादुर नेपाली भन्ने सुधान्सु दर्जीलाई बहिनीको गाउँबारे सोधेकी थिइन् । रामबहादुरले बहिनीको घर लगिदिने भन्दै साँझ ६ बजेतिर प्रदेश २–०१–००१ च २२७ नम्बरको गाडीमा राखेर बलियास्थित होटेल पुर्याएका थिए । ती महिलालाई रामबहादुरले बेहोस बनाउने वस्तु खान दिएर र सुँघाएर गछियाबाट बलियास्थित श्रेष्ठ होटेल एन्ड फेमिली लज पुर्याएको अनुसन्धानबाट खुलेको छ ।
अपहरण शैलीमा पुर्याइएकी उनलाई दर्जी, होटलका सञ्चालक ३६ वर्षीय, अर्जुन र अर्जुनका भाइ सुरज श्रेष्ठले उनीमाथि पालैपालो बलात्कार गरेका थिए । प्रतिकार गर्न खोज्दा रामबहादुरले यौनाङ्गमा हात छिराएर क्षतविक्षत पारेका थिए । यौनाङ्ग क्षतविक्षत भएर अत्यधिक रक्तश्राव भएपछि बेहोस बनेकी बलात्कार पीडित महिलालाई उपचारका लागि विराटनगरको कोसी अस्पतालमा भर्ना गरिएको थियो ।
इटहरीको सामूहिक बलात्कारबारे केटिएम दैनिकमा यसअगाडि प्रकाशित भएका समाचारहरू
- सामूहिक बलात्कारका पीडित परिवारलाई नै ज्यान मार्ने धम्की, प्रहरीको ‘अमर्यादित हर्कत’
- पक्राउ परे सामूहिक बलात्कार तीनै आरोपितहरू
- बाटो भुलेकी महिलामाथि सामूहिक बलात्कार : दुई आरोपी पक्राउ, एक जना अझै फरार
- बाटो भुलेकी महिलामाथि सामूहिक बलात्कार, यौनाङ्ग क्षतविक्षत