मोरङको सुन्दरहरैँचा नगरपालिका–४ बलियाको श्रेष्ठ होटेल एन्ड फेमिली लजमा गत माघ ७ गते महिलामाथि भएको सामूहिक बलात्कार घटनाका पीडित परिवारलाई ज्यान मार्ने धम्की दिइएको छ । प्रहरीलाई उजुरी दिएकी पीडितकी बहिनीलाई पीडक परिवारले ज्यान मार्ने धम्की दिएको हो । सुन्दरहरैँचास्थित गछिया बस्ने पीडितकी बहिनीलाई पीडक अर्जुन भनिने हिमबहादुर श्रेष्ठले गाडीले किच्चाएर मार्ने भन्दै धम्की दिएका थिए ।
त्यसबाहेक धरानबाट श्रेष्ठका आफन्तले पटक–पटक फोन गरेर ज्यान मार्ने धम्की दिएको पीडितकी बहिनीले केटिएम दैनिकसँग बताइन् । ‘उजुरी दिँदा अर्जुनले मलाई गाडीले किच्चाएर मार्दिन्छु भन्दै धम्की दिएको थियो,’ उनले भनिन्, ‘म प्रहरी किन्न सक्छु भनेर चेतावनीसमेत दिएको थियो । अहिले पनि उनीहरूका आफन्तले मलाई पटक पटक ज्यान मार्ने धम्की दिइरहेका छन् ।’
गत माघ ७ गते शुक्रवार साँझ सुनसरीको इटहरीबाट बहिनीको घर जाँदै गरेकी बेलबारी नगरपालिका–४ की ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको थियो । आफ्ना दुई छोरा र दुई छोरीका साथ सुन्दरहरैँचा गछियास्थित आफ्नी बहिनीकोमा बस्दै आएकी उनी इटहरीस्थित एउटा घरमा काम गर्थिन् । काम थालेको पहिलो दिन काम सकेर बहिनीको घरमा फर्कँदै गरेकी उनले बाटो बिराएकी थिइन् ।
गछिया चोकमा उत्रिएर अर्को एउटा गाडीमा रहेका रामबहादुर नेपाली भन्ने सुधान्सु दर्जीलाई बहिनीको गाउँबारे सोधेकी थिइन् । रामबहादुरले बहिनीको घर लगिदिने भन्दै साँझ ६ बजेतिर प्रदेश २–०१–००१ च २२७ नम्बरको गाडीमा राखेर बलियास्थित होटेल पुर्याएका थिए । ती महिलालाई रामबहादुरले बेहोस बनाउने वस्तु खान दिएर र सुँघाएर गछियाबाट बलियास्थित श्रेष्ठ होटेल एन्ड फेमिली लज पुर्याएको अनुसन्धानबाट खुलेको छ ।
अपहरण शैलीमा पुर्याइएकी उनलाई दर्जी, होटलका सञ्चालक ३६ वर्षीय, अर्जुन र अर्जुनका भाइ सुरज श्रेष्ठले उनीमाथि पालैपालो बलात्कार गरेका थिए । प्रतिकार गर्न खोज्दा रामबहादुरले यौनाङ्गमा हात छिराएर क्षतविक्षत पारेका थिए । यौनाङ्ग क्षतविक्षत भएर अत्यधिक रक्तश्राव भएपछि बेहोस बनेकी बलात्कार पीडित महिलालाई उपचारका लागि विराटनगरको कोसी अस्पतालमा भर्ना गरिएको थियो ।
बलात्कारमा श्रेष्ठ दाजुभाइ र झापा मेचीनगर नगरपालिका–३ का रामबहादुर नेपाली भनिने सुधान्सु दर्जीको संलग्नता पाइएको थियो । पक्राउ गरेर प्रहरीले तीनै जनाविरुद्ध जबरजस्ती करणी मुद्दामा अनुसन्धान गरिरहेको छ ।
अमर्यादित बनेपछि प्रहरी कारबाहीमा
इलाका प्रहरी कार्यालय बेलबारीका इन्चार्ज तथा प्रहरी निरीक्षक सरोज खनालले होटेल सञ्चालकलाई बचाउनु पर्छ भनेर पीडित पक्षलाई बारम्बार दबाब दिएको पाइएको छ । किटानी जाहेरी दिने क्रममा इन्स्पेक्टर खनालले राति ८ बजेसम्म कार्यालयको माथिल्लो तलामा एक्लै राखेर होटेलवालालाई किन फसाउन खोजेको भनेर धम्क्याएको गुनासो पीडितकी बहिनीले गरिन् ।
‘होटेल सञ्चालकलाई फसाउन हुँदैन भनेर बारम्बार इन्स्पेक्टरले भनिरहे । प्रमाण पुर्याउन नसकेमा पछि तपाईँले जेल जानुपर्छ भनेर धम्क्याए,’ उनले भनिन्, ‘तर बलात्कार गर्दै हात हालेर दिदीको यौनाङ्गमा क्षति पुर्याउने अर्जुन नै हो । पीडकलाई कारबाहीको दायरामा ल्याउँदै पीडितलाई न्याय दिनुपर्ने इन्स्पेक्टर नै अर्जुनलाई जोगाउन कम्मर कसेर लागेकाले न्यायको आशा मरेको छ ।’ प्रमाण नपुगेको खण्डमा उल्टो मुद्दा लगाइदिने भन्दै खनालले पीडित पक्षलाई थर्काएका कारण प्रहरीप्रतिको विश्वसनीयता गुमेर गएको उनले बताइन् ।
विवादित कार्यालयलाई नै अनुसन्धानको जिम्मेवारी
सो प्रकरणको अनुसन्धान गर्ने जिम्मेवारी विवादित कार्यालयले नै अनुसन्धान जिम्मेवारी पाएको छ । प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय, बेलबारीलाई सामूहिक बलात्कार प्रकरणको अनुसन्धान गर्ने जिम्मेवारी दिएको हो । जबकि, प्रारम्भिक अनुसन्धानदेखि नै घटनामा गम्भीर लापरबाही गरेको र पीडकको पक्ष लिएर पीडितलाई हतोत्साहित बनाउन खोजेको भन्दै यसै कार्यालयका केही प्रहरीमाथि छानबिन भइरहेको छ ।
प्रहरी प्रधान कार्यालयको निर्देशनमा मोरङ प्रहरीले बेलबारीसहित तीन वटा युनिट र त्यहाँका प्रहरी निरीक्षक सरोज खनालमाथि छानबिन गरिरहेको छ । यस्तै, एक जुनियर प्रहरी अधिकृत जिल्ला प्रहरी कार्यालय तानिएका छन् । दुई जनामाथि लिखित स्पष्टीकरण सोधिएको छ । होटेल सञ्चालक अर्जुन मानव बेचबिखन मुद्दाका फरार प्रतिवादीसमेत हुन् । उनीविरुद्धको मुद्दा सुनसरी अदालतमा विचाराधीन छ । फरार भनिएका अर्जुनले भने प्रहरीसँग ‘सेटिङ’ मिलाएर बूढीखोलाबाट डेढ किलोमिटर पूर्व बलिया चोकमा होटेल सञ्चालन गर्दै आएका थिए ।
घटनाका बारेमा चाँडै जानकारी पाएर पनि घटनास्थलमा ढिलो पुगेको र माथिल्लो निकायमा समयमै खबर नगरेका कारण प्रहरी प्रधान कार्यालयले अस्थायी प्रहरी चौकी बलियाका इन्चार्ज एवम् असई (सहायक निरीक्षक) प्रल्हाद बोगटीलाई जिम्मेवारीबाट हटाइएको छ । सामूहिक बलात्कारको घटनापछि बोगटीलाई कारबाहीका लागि बलियाबाट जिल्ला तानिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
सामूहिक बलात्कार घटनामा पनि लापरबाही गरेको पाइएपछि कारबाही अघि बढाउनका लागि जिल्ला तानेर छानबिन थालिएको बताउँदै श्रेष्ठले छानबिनका क्रममा दोषी पाइए उनीमाथि थप कारबाही अघि बढ्ने बताए । बोगटीको ठाउँमा बलियाको इन्चार्जका रूपमा असई केशव ओख्राबुलाई खटाइएको छ ।
त्यस्तै प्रहरी चौकी गछियाका इन्चार्ज एवम् सई (प्रहरी नायव निरीक्षक) दुर्गा पोमु र इलाका प्रहरी कार्यालय बेलबारीका इन्चार्ज खनालमाथि पनि छानबिन भइरहेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार घटनामा लापरबाही गरेको पाइएपछि विभागीय कारबाही अघि बढाउन पोमु र खनाल दुवै जनालाई स्पष्टीकरण सोधिएको छ । पोमु लामो समयदेखि राजमार्ग वरपर विशेष जिम्मेवारी दिएर खटाइएका जुनीयर प्रहरी अधिकृत हुन् ।
उनलाई विशेष गरेर विभिन्न घटनामा संलग्न भई फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने जिम्मेवारी दिने गरिएको थियो । फरार प्रतिवादी पक्राउमा राम्रो सफलता हासिल गरेको भन्दै उनलाई पटक पटक प्रहरी विभागले पुरस्कृत पनि गरिसकेको छ । तर मानव बेचबिखन मुद्दाका फरार प्रतिवादीले राजमार्गमै खुलेआम होटेल चलाएर आपराधिक धन्दा चलाइरहँदा पनि श्रेष्ठलाई पोमुले पक्राउ गरेनन् ।
स्रोतका अनुसार पोमुलाई श्रेष्ठ फरार प्रतिवादी हुन् भन्ने कुरा जानकारी थियो । तर साँठगाँठ गरेर ‘सेटिङ’ मिलाउँदै होटेल चलाउन दिइरहेको खुलेको छ । गछिया र बूढीखोलाबाट भइरहेको ढुङ्गा, बालुवालगायत नदीजन्य पदार्थको तस्करीमा पनि पोमुले साथ दिइरहेको स्थानीय बताउँछन् । श्रेष्ठ फरार प्रहरीवादी रहेको जानकारी इन्स्पेक्टर खनाललाई पनि थियो । तर पोमु र खनाललाई मिलाएर राजमार्गको उत्तरतर्फ खुलेआम होटेल चलाउन श्रेष्ठ सफल भएको पाइएको उच्च प्रहरी स्रोतले बताएको छ ।
इन्स्पेक्टर खनालले बलात्कारको घटना बाहिरिएको १० घण्टापछि मात्रै घटनास्थल मुचुल्का उठाउन टोली खटाएका थिए । घटनास्थलमा मुचुल्का टोली पुग्दा कामदारले होटेल सफा गर्दै बलात्कारसम्बन्धी जघन्य अपराधको प्रमाणहरू नष्ट गरिसकेका थिए । घटनास्थलनजिकै अस्थायी प्रहरी चौकी बलिया र त्यहाँबाट केही पूर्वतर्फ प्रहरी चौकी गछिया छ । बलात्कारजस्तो गम्भीर तथा तत्काल अनुसन्धान थाल्नुपर्ने अपराधमा मिलेमतो गर्दै इलाका प्रहरी कार्यालय बेलबारी, प्रहरी चौकी गछिया र अस्थायी चौकी बलियाले जानाजान अभियुक्त पक्षलाई प्रमाण मेटाउन समय दिएको खुलेको छ ।
जघन्य अपराधमा गम्भीर लापरबाही र मिलेमतो गरेर अभियुक्तलाई होटेल सञ्चालनका लागि बाटो खुला गरिदिने सई पोमु र इन्स्पेक्टर खनाललाई भने जिम्मेवारीबाट हटाइएको छैन । असई बोगटी जिल्ला तानिए पनि पोमु र खनाललाई भने लिखित स्पष्टीकरण मात्रै सोधेर उन्मुक्ति दिने प्रयास भइरहेको स्रोतले बताएको छ ।
बलात्कारजस्तो जघन्य अपराधमा पनि जानाजान लापरबाही गरेपछि इलाका प्रहरी कार्यालय बेलबारी विवादमा आए पनि प्रहरी प्रधान कार्यालयले भने सोही कार्यालयलाई अनुसन्धानको जिम्मेवारी दिएपछि न्याय नपाउने चिन्तामा बलात्कार पीडितका परिवार छन् । स्थानीय प्रहरीले प्रारम्भिक अनुसन्धानमै जानाजान लापरबाही गरेकाले मुद्दा कमजोर भएर न्याय नपाइने चिन्तामा आफूहरू रहेको पीडितकी बहिनी बताउँछिन् । उनले अहिले दिदीको सुरक्षा अस्पताल विराटनगरमा उपचार भइरहेको जानकारी दिइन् । माइती नेपालको संरक्षणमा उनको उपचार भइरहेको उनको भनाइ छ ।
यता, प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बेलबारी प्रहरी र मोरङ प्रहरीको समन्वयमा अनुसन्धान भइरहेको जानकारी दिए । ‘त्यहाँ कार्यरत प्रहरीलाई सामान्य स्पष्टीकरण मात्र सोधेका कारण अनुसन्धानमा शङ्का मान्नु पर्दैन,’ उनले केटिएम दैनिकसँग भने, ‘त्यसबाहेक पनि मोरङ प्रहरीको समन्वयमा बेलबारी प्रहरीले अनुसन्धान गरिरहेको छ । बलात्कारमा संलग्नलाई पक्राउ गरिसकिएको छ । लापरबाहीमा संलग्न प्रहरीमाथि पनि छानबिन जारी छ । दोषी देखिए कारबाही हुन्छ ।’
यस्तै, मोरङ प्रहरी प्रवक्ता दीपक श्रेष्ठ घटनाबारे अनुसन्धान भइरहेको बताउँछन् । उनले तीनै प्रहरीमाथि छानबिन भइरहेको जनाउँदै दोषी देखिए विभागीय कारबाही हुने जनाए ।
इटहरीको सामूहिक बलात्कारबारे केटिएम दैनिकमा यसअगाडि प्रकाशित भएका समाचारहरू
- पक्राउ परे सामूहिक बलात्कार तीनै आरोपितहरू
- बाटो भुलेकी महिलामाथि सामूहिक बलात्कार : दुई आरोपी पक्राउ, एक जना अझै फरार
- बाटो भुलेकी महिलामाथि सामूहिक बलात्कार, यौनाङ्ग क्षतविक्षत