सुनसरीको इटहरीमा नौ वर्षीया अशक्त बालिका बलात्कृत भएकी छन् । इटहरी उपमहानगरपालिका–३ स्थित फुपूको शरणमा बस्दै आएकी अनाथ तथा अशक्त बालिका बलात्कार गरेको आरोपमा ६७ वर्षीय वृद्ध पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इटहरी–३ सुनौलो बस्तीका ६७ वर्षीय गाइने भनिने भगिराज दमाई रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक अर्जुन केसीले जानकारी दिए । उनका अनुसार इलाका प्रहरी कार्यालय सुनसरीले बुधबार बिहान उनलाई इटहरी–३ धरधरेबाट पक्राउ गरेको हो ।
बुबाको मृत्यु भएको र आमाले पनि दोस्रो बिहे गरेका कारण फुपूको घरमा बस्दै आएकी उनीमाथि मङ्गलबार साँझतिर जबरजस्तीकरणी भएको थियो । उनी बस्दै आएको कोठामा दमाईलाई करणी गर्दैगरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयले देखेपछि उनी भाग्न सफल भएका थिए । तर खोजतलासीका क्रममा उनलाई बुधबार बिहान पक्राउ गरेको डिएसपी केसीले जानकारी दिए । केसीका अनुसार शारिरीक र मानसिक रूपमा अशक्त बालिका हिँडडुल गर्न र बोल्न सक्दिनन् ।
बुबाको मृत्युपछि आमाले दोस्रो बिहे गरेकी थिइन् । आमाले दोस्रो बिहे गरेपछि अलपत्र परेकी उनी फुपूको संरक्षणमा थिइन् । ‘अनाथ बालिकामाथि करणी गरेको आरोपमा उनलाई आज बिहान पक्राउ गरेको हो’, डिएसपी केसीले केटिएम दैनिकसँग भने, ‘उनी अलपत्र भई फुपूको शरणमा रहिछन् ।’
यता, जिल्ला प्रहरीका कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नरेन्द्रकुमार कार्कीले पक्राउ परेका उनीमाथि जिल्ला अदालत सुनसरीबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको जानकारी दिए ।