****घटना १****
२८ भदौमा सप्तरीको डाक्नेश्वरी नगरपालिका– ७ की १७ वर्षीया संगीता मण्डल खेतको काम गर्न घरबाट निस्केकी थिइन् । तर, खेतको आलीमा चार जनाले पछाडिबाट झ्याप्पझुप्प समातेर उनलाई खेतमै लडाए । वरपर अरू कोही थिएनन् । लुगा खोल्न थालेपछि जोडले उनी चिच्याइन् । तर उनको मुख बन्द गरिएकाले केही सीप लागेन ।
बलात्कारीहरू जबर्जस्ती गरेर फर्किए । पीडित किशोरी एकछिन बेहोस भइन् । बिहान ६ बजे घरबाट गएकी उनी हिलाम्य र रगतपच्छे अवस्थामा रुँदै घर आइन् । धेरै बेरसम्म उनी एकनासले रोइरहिन् ।
गाउँकै चार जनाबाट आफू बलात्कृत भएको सुनाएपछि उनकी आमाले छिमेकी तथा गाउँका मुख्य नेतालाई घटनाको वृत्तान्त सुनाउँदै न्यायका लागि गुहार मागिन् । गाउँमा पीडित संगीताकी आमालाई पञ्चायती बसाउन पञ्चले सुझाव दिए ।
पञ्चायतीमा स्थानीय पञ्चहरूले आरोपितहरूबाट ५५ हजार रुपैयाँ लिएर मिल्न दबाब मात्र दिएनन्, पीडितले कतै उजुरी गर्न नपाउनेसमेत फैसला सुनायो ।
प्रहरीका अनुसार ५५ हजार रुपैयाँ लिएर गाउँमै मिल्नुपर्ने पञ्चले फैसला सुनाएका थिए । पञ्चले सुनाएको फैसलाअनुसार पैसा लिएर नमिले गाउँबाटै बहिष्कार गर्नेसमेत केहीले धम्की दिए ।
पञ्चहरूले भेलामा सार्वजनिक रूपमै संगीतालाई बारम्बार कसरी र कतिपटक बलात्कार भयो भनेर सोध्न थालेपछि उनले झनै लज्जा र बेइज्जत महसुस गरिन् । पञ्चहरूले दिएको पीडा संगीताले सहन सकिनन् । अन्ततः उनले आत्महत्याको बाटो रोजिन् ।
****घटना २ ****
गत १ भदौको साँझ धनुषाधाम नगरपालिका नौसयबिगाहस्थित दिदीको घरबाट फर्किंदै गर्दा एक किशोरीलाई धर्मपुरनजिकै युवाको एक समूहले घेराउ गरे ।
किशोरीसँगै रहेका दुई युवालाई सो समूहले कुटपिट गर्दै बन्धक बनाए । प्रहरीका अनुसार १५ वर्षीया ती किशोरीलाई करिब ३ किलोमिटर पर लगेर चार जनाले बलात्कार गरे । उनीहरुले बलात्कार गरेको भिडियोसमेत खिचेको र बलात्कारको कुरा सार्वजनिक गरे भिडियो फेसबुकमा राखिदिने धम्की दिएको प्रहरीसमक्ष ती किशोरीले बताएकी छन् ।
घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरी प्रहरीले दुई जनामाथि मुद्दा चलाएको छ । तर दुई जना बलात्कारी र सहयोगीसहित छ जना अझै फरार रहेको र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले बताए।
यी घटना त केही उदाहरण मात्र हुन् । प्रदेश २ मा दिनानुदिन बलात्कार हुने क्रम बढ्दो छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एसपी कृष्ण प्रसाइँका अनुसार, प्रदेश २ का आठवटै जिल्लामा बलात्कारको घटना बढेको छ ।
प्रदेश–२ को प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्लो ४१ महिना (आव ०७४-७५ देखि मंसिर मसान्तसम्म) अवधिमा नौ सय २८ महिला तथा बालिका बलात्कृत भएका छन् । यसै अवधिमा ६३ महिला ‘बोक्सी’ आरोपमा प्रताडीत भएका छन् । त्यस्तै, तीन सय ६३ महिला तथा बालिकामाथि बलात्कार प्रयास भएको छ ।
प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एसपी कृष्ण प्रसाइँका ४१ महिनाको अवधिमा सबैभन्दा बढी सिरहामा एक सय ५१, सप्तरीमा एक सय ३७, धनुषामा एक सय ५०, महोत्तरीमा ८४, सर्लाहीमा एक सय तीन, रौतहटमा ९०, बारामा एक सय दुई र पर्सामा एक सय एक महिला तथा बालिका बलात्कृत भएका छन् ।
प्रहरीका अनुसार चालू आर्थिक वर्षमा उमेर समूहको हिसाबले १० वर्ष मुनिका बालिका ३, १० देखि १६ वर्षसम्मको किशोरावस्थाकी ६८ र १६ वर्षभन्दा माथिको महिला १ सय २० जना बलात्कारको शिकार भएको प्रसाईंले बताए ।
यी घटनामा जबर्जस्ती करणी गरी हत्या गरिएकोतर्फ १० वर्षमुनिका २, १० वर्षदेखि १६ वर्षसम्मका १३ र १६ वर्षभन्दा माथिका २९ जना छन् । जुन गतवर्षको अनुपातमा ३ महिनामा करिब ५० प्रतिशतको हाराहारीमा छ ।
बलात्कारका घटना ह्वात्तै वृद्धि भएसँगै प्रहरीले कारबाही पनि तीव्र पारेको प्रवक्ता प्रसाईंले बताए । उनका अनुसार गत वर्षमा ३ सय ९५ बलात्कारको घटनामध्ये ३ सय १४ जनालाई पक्राउ गरिएको छ ।
यस्तै, घटनामा १ सय ४१ जना पक्राउ गरी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।
प्रवक्ता प्रसाईंका अनुसार अपराधविरुद्ध आवाज उठाउनुपर्छ भन्ने जनचेतनामा आएको वृद्धि, लकडाउन, लागुऔषध तथा मदिरा सेवनलगायतका कुलतले गर्दा विगतभन्दा चालू आर्थिक वर्षमा बलात्कारको घटना बढ्न गएको हो ।
उनले भने, ‘लकडाउन अवधिले निम्त्याएको बेरोजगारी र घरमा खाली बस्दा आपसी रिसईवीले गर्दा पनि यो वर्ष बलात्कारको घटना व्यापाक रूपमा बढेको हो, अधिंकाश बलात्कारका घटनामा लागुऔषध र मदिरालगायतले सपोर्टिङ भूमिका निर्वाह गरेको अनुसन्धानको क्रममा देखिएको छ ।’
उनले अधिकांश बलात्कार घटनामा महिला तथा बालबालिका आफ्नो नातेदार र चिनजानबाट आपसी विवादकै कारण बलात्कृत भएको प्रहरीको अनुसन्धानबाट देखिएको बताए । तर, समाजशास्त्रीहरू बलात्कार घटना बढ्नुको कारणमा नयाँ पुस्तामा बढेको मोबाइलको प्रयोग, ठाटबाठ (ग्ल्यामर) र राजनीतिक दबाब तथा आर्थिक प्रलोभनसमेत रहेको बताउँछन् ।
फितलो कानुनले समस्या
कानूनको विद्यार्थी श्रुति सिंहले बलात्कार जस्तो पाशविक अपराधमा पनि राजनीतिकर्मी र समाजका अगुवाहरु नै गाउँमै मिलाउने प्रपञ्चमा लाग्दा यस्तो घट्ना बढेको बताउँछिन् । ‘बलात्कारी पक्राउ परे पनि केही दिन वा महिनामा फुक्काफाल भएर समाजमा फर्कन अवस्थाले पनि अपराध बढ्दै गएको देखिन्छ’, उनी भन्छिन्, ‘कम्तीमा आजीवन कैदको व्यवस्था हुनुपर्छ ।’
नारामै सीमित बेटी पढाऊ बेटी बचाऊ अभियान
प्रदेश २ सरकारले भारतको अनुकरण गर्दै ‘बेटी पढाऊ बेटी बचाऊ अभियान’ गरेको थियो । मुख्यमन्त्री लालबाबु राउतले महिला सशक्तीकरण तथा सामाजिक सुधार गर्ने उद्देश्यले ‘बेटी पढ़ाऊ, बेटी बचाऊ अभियान’ घोषणा गर्दा सामाजिक सञ्जालमा उनको वाहवाही भयो । तर, पछिल्लो समय त्यो नारामा मात्र सीमित बन्दै गएको गुनासो बढ्न थालेको छ ।
प्रदेश २ मा अभियान चलिरहँदा बलात्कार तथा हिंसाका घटनामा कमी नआउँदा जनताको गुनासो बढेको हो ।