जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनै पर्ने बताएका छन्।
भट्टराईले सामाजिक सञ्जाल मार्फत् सरकारको असफलता/भ्रष्टाचारबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै लिखित आरोप लागेकाले ओलीलाई हटाउनैपर्ने उल्लेख गरेका छन् । उनले नेकपाको झगडामा राष्ट्रपति र विदेशी कुटनीतिज्ञले हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरेका छन् ।
भट्टराईले नेकपाको आन्तरिक विवादमा राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले हस्तक्षेप गर्न खोजेको भन्दै त्यसो गर्न नमिल्ने बताएका छन्।
प्रतिपक्षी दल र जनताले उठाउनैपर्ने विषय भन्दै लेखेका छन्, ‘१. राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन, २. ओली सरकारको असफलता-भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ ।’
नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य/जनताका मुद्दा प्रतिपक्षी दल/जनताले उठाउनैपर्छ है: १.राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन;२.ओली सरकारको असफलता/भ्रष्टाचारवारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ।
— Baburam Bhattarai (@brb1954) November 18, 2020
यसअघि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीमा चुलिएको विवादबारे राष्ट्रपति भण्डारीले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै छलफल गरेकी थिइन्। प्रधानमन्त्री केपी शर्मा ओली १२ घन्टाको अवधिमा २ पटक राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका थिए ।
चिनियाँ राजदूत यान्छीले भने मंगलबार राति बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन्।
प्रधानमन्त्रीले नेकपा सचिवालयको वैठकमा आफू सहभागी नहुने भनेर अठान कसेपनि अन्तिम समयमा आएर उक्त वैठकमा सहभागी भएका थिए । बैठकमा सहभागी हुनुअगाडी उनले डेढ घन्टा राष्ट्रपतिसँग छलफल गरेका थिए ।
बुधबार सवा १ बजेबाट सुरु भएको नेकपा सचिवालय बैठकमा ओलीले आफ्नो छुट्टै राजनीतिक प्रतिवेद पनि पेश गर्ने त्यसको लागि १० दिनको समय माग गरेका छन् ।
सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक मंसिर १८ गते स्थायी कमिटी बैठक बस्ने भएको छ भने २५ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।
यसअघि कार्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन दूराग्रहपूर्ण रहेको ओली पक्षको आरोप छ ।