नेपालकै सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) टिठ लाग्दो अवस्थामा पुगेको छ ।
२०७४ सालको निर्वाचनमा पहिलो र तेस्रो ठूला दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि सबैभन्दा ठूलो र सबैभन्दा बढी मतसहित ठूलो संसदीय दल बनेर स्पष्ट बहुमतसहित पाँच वर्षका लागि सत्ता संचालनको म्यान्डेट पाएको भए पनि नेकपाबीच निकै नै खटपट चलिरहेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता टिकाउन चिनियाँ दूतावास निकै नै सक्रिय देखिएको छ । प्रायः नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले मर्यादा नै नाघेर नेकपाको एकता टिकाउन सुरुआतदेखि नै प्रयास गर्दै आएकी छिन् ।
नेकपामा देखिएको तरङ्ग रोक्नका लागि चिनियाँ दूतावासले मंगलबार मात्रै चार वटा छुट्टाछुट्टै मिटिङ गरेको छ । यी मिटिङहरु छिटो सन्देश फैलाएर एकता टुट्न नदिन गरिएको प्रयास स्वरुप भएको पनि दूतावास निकट स्रोतले बताएको छ ।
राजदूत यान्छी स्वयंले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेकी छिन् ।
त्यस्तै विभिन्न तहमा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु एवं व्यापारी तथा उपाध्यक्ष बामदेवा गौतमसँग चिनियाँ दूतावासका प्रतिनिधिले भेट गरेका छन् ।
उच्च स्रोतका अनुसार यान्छीले प्रधानमन्त्री ओलीलाई राति ८:१० देखि १०:१० बजेसम्म दुई घण्टा बालुवाटारमा गएर छलफल गरेकी छिन् ।
नेकपाको टुक्रिने निश्चित जस्तै भएको एकतालाई फेरि चीनले जोगाइदिने अनुमान गरिएको छ । चिनियाँ दूतावासको कुटनीतिक मर्यादा विपरीतको यो भेटको भने सामाजिक संजालमा चर्को विरोध भइरहेको छ ।
चिनियाँ दूतावास नेकपाका लागि ‘प्रभु’ को रुपमा खडा हुँदै आएको छ । चीनकै कारण तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीचको एकता सम्भव भएको थियो भने पटक पटक टुक्रिनबाट जोगाउँदै आएको छ ।