
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले युवा पुस्ताको विद्रोहको लहर आएको र बालेन शाह र हर्क साम्पाङहरु त सानो झिल्को मात्र भएको बताएका छन् ।
शनिबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले मुलुकमा युवापुस्ताको विद्रोहको लहर आएको र त्यसमा को को बढारिने हो थाहा नभएको बताए ।
उनले भने, ‘युवा पुस्ताको विद्रोहको लहर आएको र बालेन शाह र हर्क साम्पाङहरु त सानो झिल्को मात्र हो यसलाई सम्बोधन गर्न सक्नुभएन भने गाउँठाउँमा त प्रभाव नपर्ला, हाम्रो संगठनको बलमा चुनाव जितिएला तर शहरी क्षेत्रहरुमा त्यति सहजै चुनाव जित्नेवाला हामी छैनौं । हामी को को बढारिन्छौं म भन्न सक्दिन, मलाई त आत्मविश्वास छैन ।’
उनले प्रतिनिधि सभा भनेको जनताको सर्वभौम सत्ताको अभ्यास गर्ने सबभन्दा उच्चतम थलो र राज्यका सबै अङ्गहरुलाई निगरानि गर्ने थलो भएपनि भित्रभित्रै खोत्रिदै गएको पनि बताएका छन् ।
भट्टराईले भने, ‘प्रतिनिधि सभा भनेको जनताको सर्वभौम सत्ताको अभ्यास गर्ने सबभन्दा उच्चतम थलो हो ,राज्यका सबै अङ्गहरुलाई निगरानि गर्ने थलो हो , न्ययापालिका राज्यको महत्वपूर्ण अङग हो तर भित्रभित्रै कति खोक्रो छ, नागरिकता मानिसको नैसर्गिक अधिकार हो, किन विभिन्न आधारमा नागरिकताको मुद्धा उठाईरहेका छौ आग्रह गर्न चाहन्छु यस्तो अत्यन्तै छुद्र प्रवृत्तिको काम नगरौ यो विधेक कुनै बाहाना नगरी चाँडो जारी गर्नुपर्छ ।’
उनले आफूमा भएको कमी कमजोरी सुधारेर राष्ट्रियता, लोकतन्त्र, आर्थिक विकास र समृद्धिका विषयमा नयाँ अवधारणा लिएर जान सकेमा मात्र पुन जित हासिल गरेर आगामी प्रतिनिधि सभामा भेट्न सक्ने सम्भावना रहेका बताए ।