
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका छन्। गोरखाको सिरानचोक गाउँपालिकाको चित्रेपोखरीमा मतदाता भेटघाट कार्यक्रममा प्रचण्डसँग पुगेका भट्टराईले आगामी चुनावपछि प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका हुन्।
मतदाताहरुसँगको भेटघाटमा बोल्दै भट्टराईले गठबन्धनको सरकार पाँच वर्ष चल्ने र अबको प्रधानमन्त्री प्रचण्ड हुने बताए। ‘प्रचण्ड दुई पटक प्रधानमन्त्री भइसक्नु भएको छ। उहाँ सुयोग्य व्यक्ति हो’, उनले भने, ‘अबको सरकार पाँच वर्ष गठबन्धनले चलाउँछ । अबको प्रधानमन्त्री प्रचण्ड हो ।’
त्यस्तै, प्रदेशसभामा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे उठेको र उनको जित हुने उनले बताए। साथै, अबको गण्डकी प्रदेशका मुख्यमन्त्रीमा पाण्डेको सम्भावना रहेको समेत उनले बताए।
यसअघिको निर्वाचनमा गोरखा २ बाट आफू चुनाव लड्दै आएको भए पनि यस पटक भट्टराईले प्रचण्डलाई सो क्षेत्र सुम्पिएका छन्। आफूले निर्वाचन जितेपछि बाटो घाटो निर्माण र विकासका कामहरु भएको र केही बाँकी रहेको पनि भट्टराईको भनाई छ।