
पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक भेटघाटलाई तीव्र पारिरहेका छन् ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”लाई बालुवाटारमा भेट गरेका भट्टराईले आजै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।
ओलीको निजी निवास बालकोट पुगेका भट्टराईले समसामयिक राजनीति, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायतका विषयमा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गरेको नेसपाका केन्द्रीय सदस्य विश्वदीप लामिछानेले बताए ।
भट्टराईको दौडधुपलाई लिएर कतिपयले पदको लागि भेटघाट तीव्र पारिएको बताइरहेका छन् । मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवारी नदिएर उनले प्रचण्डलाई गुन लगाएका थिए ।

आफूले जित्दै आइरहेको गोरखा २ यस पटक प्रचण्डलाई छाडेका भट्टराईले उपराष्ट्रपति वा अन्य अन्य कुनै लाभको पदको लागि राजनैतिक दौडधुप तीव्र पारेको चर्चा राजनैतिक वृत्तमा चल्न थालेको छ ।