
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सधैँ विवाद गर्नुभन्दा भारतसँगको सिमानामा काँडेतार वा पर्खाल लगाउनु उपयुक्त हुने बताएका छन् ।
सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपालले सीमाको विषयमा सँधैभरि विवाद गर्नुभन्दा कन्ट्रोल गर्नु राम्रो हुने र त्यसका लागि काँडेतार वा पर्खाल खडा गर्नु नै उपयुक्त हुने बताएका हुन् । उनले विभिन्न ठाउँमा सीमा मिच्ने, दशगजा क्षेत्रमा बाँध बाँध्ने, सुरक्षा फौज तैनाथ गर्ने एवं सडक बनाउने काम गरिरहने भएकाले त्यसलाई रोक्न छलफल गर्नुभन्दा सीमामा काँडेतार वा पर्खाल लगाउनुपर्ने बताए ।
र यो पनि पढ्नुहोस्
नेपाल-भारत सीमामा सरकारले पर्खाल लगाउने हिम्मत गरोस्, म एक करोड सहयोग गर्छु : पर्यटन व्यवसायी खत्री
उनले भने, ‘जहाँ पनि समस्या पाइराखेको छ । सीमा मिच्ने काम भइराखेको छ । पिलर भत्काउने अनि सार्ने काम भइराखेको छ । बाँध बाँध्ने दसगजा क्षेत्रमा यस्तो काम भइराखेको छ । त्यसपछि हुँदाहुँदा त सुरक्षा फौजको तैनाथी र बाटो निर्माण गर्ने कामसम्म पनि भयो । त्यसैले नियमन गर्ने काममा ध्यान दिनुपर्यो । नियमनलाई कसरी व्यवस्थित गर्न सकिन्छ । अझ सीमा पनि कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने कुरामा जानै पर्ने भो । सधैँभरि विवाद गर्नुभन्दा त क्लियर गरिदिनु राम्रो हो ।’
नेता नेपालले सरकारले नेपालको नक्सा छिट्टै प्रकाशित गर्नुपर्ने समेत बताए । नक्सामा विवाद हुँदा अनावश्यक रुपमा भारतसँग नकारात्मक भावना उत्पन्न भएको भन्दै समस्या समाधानका लागि छिट्टै छलफल चलाउन भारत तयार हुनुपर्ने उनको भनाइ थियो ।
यस्तै विद्यार्थीलाई पढाउने पुस्तकमा समेत नेपालको नक्सा प्रकाशित गर्ने विषयमा विवाद भएको उल्लेख गर्दै विद्यार्थीले वास्तविक नक्साको अध्ययन गर्न पाउनुपर्ने भन्दै उनले भने सीमा र नागरिकको रक्षाका लागि सुरक्षा संयन्त्र स्थापना गर्न र विकट क्षेत्रमा कार्यरत सुरक्षाकर्मीहरुको लागि उचित प्रबन्ध गर्नुपर्ने देखिन्छ ।
र यो पनि पढ्नुहोस्
कोरोनाले नेपाल भारत सीमामा तारबार लगाएर बन्द गर्ने अवसर दिएको छ : देव गुरुङ
केही समय अगाडी देखी नै नेपाल र भारतको खुल्ला सिमानामा तारवार लगाउनुपर्छ भन्दै जनस्तरबाट आवाज उठ्न थालेको छ । तर सो आवाज चियापसल र सामाजिक सञ्जालमा गफ गर्ने मेलो मात्र बनिरहेको तितो यर्थाथ हामीसामू प्रष्ट छ । नेपालमा भारतले माइक्रो म्यानेजमेन्ट गर्ने र नेताहरु दक्षिणको आशिर्वाद लिएर चल्ने आरोप लागिरहेकै बेला देशका आम नागरिकहरुको आवाज यथार्थमा परिणत हुन सकिरहेको छैन ।
कुनै कुनै नेताहरुले राष्ट्रप्रेम देखाउने हिसावले भाषणमा मात्र यी कुरा समेट्ने तर आफू पदमा पुगेपछि सबै कुरा भुल्ने नियतीले गर्दा नै सीमानाकामा तारवार लगाउने कुरा दिवा सपनामात्र भएको आम मानिसहरुको बुझाइ छ ।