काठमाडौँ — नेकपाका प्रमुख सचेतक देव गुरुङले सीमामा कडाइ गरेर मात्रै कोरोना भाइरस(कोभिड–१९) को सं क्रमण रोकथाम तथा नियन्त्रण हुने बताएका छन् ।
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकारी समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सीमामा कडाइ नगरी कोरोना नियन्त्रण गर्न कठिन हुने उनले बताएका हुन् ।
सीमानाकाबाटै कोरोना भाइरसको संक्रमणको जोखिम निम्तिएकाले कडाइ गर्नुपर्ने गुरुङले सुझाव दिएका छन् । ‘सीमामा टाइट नगरे त्यही नै हाम्रो निम्ति जोखिम र अभिशाप सावित हुनेछ,’ उनले भने, ‘तारबार लगाएर सीमा बन्द गर्नै पर्छ ।’ त्यस्तै उनले खासखास नाका मात्र खुलाएर सीमामा पासपोर्ट र भिसा प्रणाली लागू गर्नुपर्छ भन्ने कोरोना संक्रमणको परिघटनाले सन्देश दिएको बताए ।
प्रमुख सचेतक गुरुङले सीमा सुरक्षामा नेपाली सेना नै खटाउनुपर्ने पनि बताएका छन् । ‘सीमामा सशस्त्र प्रहरी र आन्तरिक सुरक्षामा नेपाली सेना खटाइनु अलि उल्टो भयो कि भन्ने लाग्छ,’ गुरुङले भने । उनले थप्दै भने “कोरोनाले नेपाल र भारतको सीमानामा तारबार लगाएर बन्द गर्ने अवसर दिएको छ । यस्तो अबसरको हामीले सदुपयोग गर्नुपर्छ ।”
केही समय अगाडी देखी नै नेपाल र भारतको खुल्ला सिमानामा तारवार लगाउनुपर्छ भन्दै जनस्तरबाट आवाज उठ्न थालेको छ । तर सो आवाज चियापसल र सामाजिक सञ्जालमा गफ गर्ने मेलो मात्र बनिरहेको तितो यर्थाथ हामीसामू प्रष्ट छ । नेपालमा भारतले माइक्रो म्यानेजमेन्ट गर्ने र नेताहरु दक्षिणको आशिर्वाद लिएर चल्ने आरोप लागिरहेकै बेला देशका आम नागरिकहरुको आवाज यथार्थमा परिणत हुन सकिरहेको छैन ।
कुनै कुनै नेताहरुले राष्ट्रप्रेम देखाउने हिसावले भाषणमा मात्र यी कुरा समेट्ने तर आफू पदमा पुगेपछि सबै कुरा भुल्ने नियतीले गर्दा नै सीमानाकामा तारवार लगाउने कुरा दिवा सपनामात्र भएको आम मानिसहरुको बुझाइ छ ।