
भारतीय प्रहरी हतियारसहित बर्दिया प्रवेश गरेको छ । भारतीय प्रहरीका दरोगा (उपरीक्षक) अनाधिकृत रुपमा बिहीबार बेलुकी करिब साढे ५ बजे सदरमुकाम गुलरियामा प्रवेश गरेका हुन् ।
यूपी ५३डीके ७४०६ नम्बरको प्रहरीको गाडीमा आएका उनले पेस्तोल बोकेका थिए । उनी बर्दियाको एक पेट्रोल पम्पमा पुगी गाडीमा पेट्रोल भरेर फर्किएको स्थानीयले बताएका छन् ।
सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीको पोस्ट छिचोल्दै नेपालभित्र प्रवेश गर्दा उनलाई जाँचसमेत गरिएको छैन ।
प्रहरी पोसाकमाथि ज्याकेट लगाएका उनी कुन प्रयोजनका लागि आएका हुन् भन्नेबारे प्रहरी प्रशासन अहिलेसम्म बेखबर छ ।
यस सम्बन्धमा सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढाले आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । उनले सीमामा तैनाथ सशस्त्र प्रहरी पोस्टका सुरक्षाकर्मीसँग जानकारी लिने काम भइरहेको बताए ।
६ वर्षअघि पनि भारतीय प्रहरी हतियारसहित गुलरिया प्रवेश गरेका थिए । त्यसबेला मञ्जुलकुमार श्रेष्ठको घरबाट दुई जनालाई हतियार देखाउँदै अपहरण गरी लैजाने बेला स्थानीयले विरोध गरेका थिए ।
त्यसपछि भारतीय प्रहरीलाई नेपाल प्रहरीले स्कटिंग गरी सीमा कटाएका थिए ।