कास्की– कास्कीका दुग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न सरकारसँग माग गरेका छन्। दूध उत्पादनमा प्रयोग हुने दाना, चोकर, घाँस, औषधोपचार, श्रम तथा ढुवानी खर्च बढ्दै गए पनि सोहीअनुसार दूधको मूल्य समायोजन नहुँदा किसान मारमा परेको उनीहरूको भनाइ छ।
सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले पोखरामा पत्रकार सम्मेलन गरी हाल दूधको गुणस्तरअनुसार किसानले प्रतिलिटर ६८ देखि ७१ रुपैयाँसम्म मात्र पाउँदै आएको जनाएको छ। उक्त मूल्यले उत्पादन लागतसमेत धान्न नसकेको सहकारीको निष्कर्ष छ।
सहकारी संस्थाका अध्यक्ष नवराज बरालका अनुसार कास्कीमा सहकारीमार्फत दैनिक २८ हजार लिटर तथा निजी फार्म र डेरीमार्फत करिब ७० हजार लिटर दूध उत्पादन तथा बिक्रीवितरण हुँदै आएको छ। जिल्लामा दैनिक करिब एक लाख लिटर दूध उत्पादन हुने गरेको उनले बताए।
दुग्ध उत्पादन किसानको जीविकोपार्जनसँगै ग्रामीण अर्थतन्त्र र राष्ट्रिय अर्थतन्त्रसँग समेत जोडिएको विषय भएकाले सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्ने अध्यक्ष बरालको भनाइ छ।
‘उत्पादन लागत बढ्दै जाने तर दूधको उचित मूल्य नपाउने अवस्था रहिरहे किसान यो पेसाबाट विस्थापित हुन सक्छन्। त्यसको असर देशको समग्र दुग्ध उत्पादनमा पर्छ’, उनले भने, ‘भौगोलिक अवस्था, पशु आहारको उपलब्धता, श्रम, ढुवानी दूरी र पशुपालन प्रणालीलाई आधार बनाएर दूधको मूल्य निर्धारण गर्नुपर्छ।’
उपभोक्ताको हित र बजारको अवस्थालाई समेत ध्यानमा राख्दै किसानले पाउने दूधको मूल्य कम्तीमा प्रतिलिटर ८० रुपैयाँ कायम गर्न सरकारसँग माग गरिएको उनले बताए। केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाले पनि दूधको मूल्य वृद्धि गर्न लामो समयदेखि सरकारसँग माग गर्दै आए पनि सुनुवाइ नभएको किसानहरूको गुनासो छ।
किसानले दूधको मूल्य वृद्धि गर्नुका साथै बिक्री गरेको दूधको रकम समयमै भुक्तानी हुने व्यवस्था मिलाउन माग गरेका छन्। त्यस्तै, पशुको स्वास्थ्योपचार तथा खोप सेवा प्रभावकारी बनाउन, पशु आहारमा सहुलियत दिन, उत्पादन लागतका आधारमा अनुदान उपलब्ध गराउन र कृत्रिम गर्भाधान सेवा निःशुल्क गर्नुपर्ने उनीहरूको माग छ।
पोखरा लेखनाथका कृषक त्रिलोचन लामिछानेले तीन वर्षदेखि दूधको मूल्य समायोजन हुन नसकेको बताए। यस अवधिमा दाना र चोकरको मूल्य २५ प्रतिशतभन्दा बढी वृद्धि भएको उनको भनाइ छ।
‘दाना–चोकरको मूल्य महिनैपिच्छे बढिरहेको छ। हामीले उत्पादन गरेको दूधको मूल्य भने तीन वर्षदेखि उस्तै छ। यही अवस्था कायम रहने हो भने किसान कसरी बाँच्ने ? पशुपालनबाट पलायन हुनुको विकल्प रहँदैन’, लामिछानेले भने।
त्यस्तै, माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकका कृषक कृष्णप्रसाद अधिकारीले बजारमा हरेक वस्तुको मूल्य बढिरहे पनि दूधको मूल्य वृद्धि हुने आशामा किसान तीन वर्षदेखि पर्खिरहेको बताए।
उपभोक्ताले बजारमा दूध खरिद गर्दा महँगो मूल्य तिर्नुपरे पनि त्यसको उचित लाभ उत्पादक किसानले पाउन नसकेको उनको गुनासो छ।
‘किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीच ठूलो अन्तर छ। उपभोक्ताले महँगोमा दूध किन्नुपर्ने तर किसानले उत्पादन लागतसमेत नउठ्ने मूल्य पाउने अवस्था छ। किसानले उत्पादन गरेको दूधको मूल्य निर्धारण गर्दा उनीहरूकै कुरा किन सुनिँदैन ?’ अधिकारीले प्रश्न गरे।