काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले वितरण लाइन भूमिगत गर्ने कार्यका लागि काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणका अनुसार आगामी मङ्सिर ३ गतेदेखि १४ गतेसम्म कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा दैनिक विद्युत् सेवा अवरुद्ध हुनेछ ।
प्राधिकरणले सूचना जारी गर्दै विभिन्न फिडरअन्तर्गतका क्षेत्रमा बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।
सूचनाअनुसार मङ्सिर ३, ६ र ८ गते बलम्बु तथा थानकोट फिडरअन्तर्गत बल्खु खोला पुल र नैकाप क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ । त्यस्तै, मङ्सिर ४ गते धोबीखोला–बत्तीसपुतली फिडरअन्तर्गत लुम्बिनीदेखि शिफल ग्राउन्डसम्म र मङ्सिर ५ गते कालिमाटी तथा बाफल फिडरअन्तर्गत स्युचाटार पुल क्षेत्रमा विद्युत् कटौती हुनेछ ।
त्यसैगरी, मङ्सिर ७ गते कोटेश्वर–इमाडोल फिडरअन्तर्गत ईडीटीआर ९ र ईडीटीआर ९ए क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । मङ्सिर ९ गते कोटेश्वर फिडरअन्तर्गत ईडीटीआर २६ए र ईडीटीआर ४ तथा मङ्सिर १२ गते ईडीटीआर ८ए र ईडीटीआर ८ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध रहनेछ ।
मङ्सिर १० र १४ गते धोबीखोला–बत्तीसपुतली फिडरअन्तर्गत शिफल ग्राउन्डदेखि कालोपुलसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।
यस्तै, मङ्सिर ११ गते बलम्बु–थानकोट फिडरअन्तर्गत सतुङ्गलदेखि ढुङ्गेअड्डासम्म र मङ्सिर १३ गते थानकोट फिडरअन्तर्गत बलम्बुदेखि सगरमाथा स्याटेलाइट स्टेसनसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ ।
प्राधिकरणले मौसम प्रतिकूल भएमा पूर्वनिर्धारित तालिका परिवर्तन वा रद्द हुन सक्ने स्पष्ट पारेको छ । विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।