काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) सदस्य राष्ट्रबीच समग्र सम्झौता हुन नसकेपछि आइतबार सम्पन्न भएको छ। पूर्वनिर्धारित समयभन्दा ४८ घण्टाभन्दा बढी समय अतिरिक्त वार्ता गर्दा पनि राष्ट्रहरूबीच साझा सहमति जुट्न नसकेको हो।
सम्मेलनको समापन सत्रमा अध्यक्ष मुरात कुरुमले प्रस्तावित दस्तावेजमा केही राष्ट्रले असहमति जनाएकाले त्यसलाई पारित गर्न नसकिएको बताए। सबै पक्षले आफूले चाहेका सबै विषय प्राप्त नगरे पनि प्रस्तावित दस्तावेजमा आ–आफ्ना सरोकार समेटिएको पाउन सक्ने उनको भनाइ थियो।
टर्कीका वातावरण, सहरीकरण तथा जलवायुसम्बन्धी मन्त्रीसमेत रहेका कुरुमले सम्मेलनको अध्यक्ष राष्ट्रका रूपमा टर्कीको जिम्मेवारी समापनपछि पनि जारी रहने बताए। स्वच्छ ऊर्जा, शून्य फोहोर र जलवायु वित्तीय सहयोगसम्बन्धी सम्मेलनको कार्ययोजनालाई निरन्तरता दिने उनले उल्लेख गरे।
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले समग्र सम्झौता हुन नसकेकोमा गहिरो निराशा व्यक्त गरे। यद्यपि, न्यायोचित ऊर्जा तथा जलवायु रूपान्तरणलगायतका विषयमा महत्त्वपूर्ण वार्तागत निर्णय भएको उनले बताए।
स्टिलका अनुसार विभिन्न देशका प्रतिबद्धता र राष्ट्रप्रमुखहरूको सम्मेलनबाट विश्व अर्थतन्त्रको करिब आधा हिस्सा विद्युतीकरणलाई तीव्रता दिन अघि बढेको देखिएको छ। सम्मेलनको कार्ययोजनाअन्तर्गत केही ठोस प्रगति भए पनि जलवायु संकट सम्बोधनका लागि अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ थियो।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि सम्मेलनको नतिजाप्रति निराशा व्यक्त गरे। जलवायु संकटले सरकारहरूबीच सहमति पर्खेर नबस्ने भन्दै उनले यसको सामना गर्न विश्वले तत्काल थप प्रभावकारी कदम चाल्नुपर्ने बताए।
शुक्रबार सम्पन्न हुने पूर्वनिर्धारित कार्यक्रम रहे पनि अतिरिक्त वार्ताका कारण सम्मेलन लम्बिएको थियो। टर्कीको पर्यटकीय सहर अन्ताल्यामा नोभेम्बर ९ देखि सुरु भएको सम्मेलनको मुख्य उद्देश्य विश्वव्यापी जलवायु प्रतिबद्धतालाई व्यावहारिक कार्यान्वयनमा रूपान्तरण गर्नु थियो।