काठमाडौं। नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धिमाथि प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै बास्कोटाले भ्रमणका क्रममा प्लाइउड र चिया निर्यातको विषय छायामा परेको बताएका छन्।
उनले नेपाल-भारत सीमा विवादको विषय पनि भ्रमणको प्राथमिकतामा नपरेको उल्लेख गरेका छन्। बास्कोटाले भने, ‘प्लाईउड र चिया निर्यात त छायामा परेछन्। सिमा विवाद त संसद्मै बिर्को लाएर गाथे। ब्याज पाए पछि ऋण जुन साहुले पनि दिन्छ। भिजन पत्र त भैंसी बेचेको रकम उठाउने माघे भाका जस्तै हो।’
यद्यपि, उनले भ्रमणका क्रममा हवाई रुटसम्बन्धी भएको सम्झौतालाई भने सकारात्मक रूपमा लिएका छन्। हवाई रुट सम्झौताको विषयमा उनले भने, ‘हवाई रुट सम्झौता राम्रो भयो। विज्ञहरूले केस्रा केलाउन पर्ने हो-हेरौँ।’