काठमाडौँ । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरू आजदेखि सुरु हुँदैछन् । प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने भए पनि केही खेलका प्रतिस्पर्धा भने आजैदेखि सञ्चालन हुन लागेका हुन् ।
दशौँ राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट स्वीकृत खेल तालिकाअनुसार आजदेखि पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीसहित विभिन्न खेलका प्रतिस्पर्धा सुरु हुनेछन् ।
प्रतियोगितामा समावेश ३२ खेलमध्ये २३ खेल कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुनेछन् । सुर्खेतमा एथ्लेटिक्स, क्रिकेट, फुटबल, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबलटेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी, साइक्लिङ, ई–स्पोर्ट्स र सेपाकताक्रोका प्रतियोगिता सञ्चालन हुनेछन् ।
त्यस्तै, टेनिस र खोखो बर्दिया, जुडो र कुस्ती सल्यान, शारीरिक सुगठन पश्चिम रुकुम, आईटीएफ तेक्वान्दो दैलेख, बुद्धिचाल कालिकोट तथा पौडी र सुटिङ नेपालगञ्जमा आयोजना हुने तय भएको छ ।
लुम्बिनी प्रदेशका दुई जिल्लामा खेल आयोजना हुने भए पनि कर्णाली प्रदेशका हुम्ला, जुम्ला, जाजरकोट, मुगु र डोल्पामा भने कुनै पनि खेल राखिएको छैन ।
प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आवश्यक तयारी पूरा भएको आयोजकले जनाएको छ । विभिन्न प्रदेशबाट खेलाडीहरू पनि प्रतियोगितामा सहभागी हुन वीरेन्द्रनगर पुगिसकेका छन् ।
वीरेन्द्रनगरस्थित रङ्गशाला सोमबार हस्तान्तरण तथा उद्घाटन गरिएको छ । रङ्गशालाको मुख्यमन्त्री मङ्गलबहादुर शाहीले उद्घाटन गरेका हुन् ।
प्रतियोगिताको प्रचारप्रसार तथा तयारी पूरा भएको सन्देश दिन वीरेन्द्रनगरमा सांस्कृतिक झाँकीसहित र्यालीसमेत निकालिएको थियो । र्यालीमा मुख्यमन्त्री शाही, मन्त्री, सांसद, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्यसचिव रामचरित्र मेहता, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमाल, सदस्यसचिव रविन चन्द, खेलाडी तथा स्थानीयवासीको सहभागिता थियो ।
लामो प्रतीक्षापछि कर्णाली प्रदेशमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन लागेको हो । अधिकांश खेल सुर्खेत रङ्गशालामा सञ्चालन हुनेछन् । प्रतियोगिताको उद्घाटन मङ्सिर १६ गते र समापन मङ्सिर २७ गते सुर्खेत रङ्गशालामै हुने कार्यक्रम छ ।