धनकुटा– दूधको मूल्य प्रतिलिटर न्यूनतम ८० रुपैयाँ कायम गर्न माग गर्दै धनकुटाका दुग्ध उत्पादक किसानले सरकारलाई नौ दिनको अल्टिमेटम दिएका छन्। आइतबार पत्रकार सम्मेलन गर्दै किसानले आगामी मङ्सिर १५ गतेभित्र आफ्ना माग सम्बोधन गर्न सरकारलाई समयसीमा दिएका हुन्।
पटक–पटक सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि माग सुनुवाइ नभएको भन्दै किसानले पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ धनकुटाका अध्यक्ष नारद कटुवालले किसानका समस्याप्रति सरकारले बेवास्ता गरे बाध्य भएर आन्दोलन गर्नुपर्ने अवस्था आउने बताए।
उनका अनुसार पशु आहार, दाना, औषधि तथा श्रमिकको ज्याला निरन्तर बढिरहेको छ। तर, किसानले उत्पादन गरेको दूधको उचित मूल्य र बजारको सुनिश्चितता हुन नसक्दा दुग्ध व्यवसायमा आबद्ध किसान आर्थिक सङ्कटमा पर्दै गएका छन्।
मङ्सिर १५ गतेसम्म माग सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने किसानले चेतावनी दिएका छन्। आन्दोलनका क्रममा दूध बिक्री वितरण बन्द गर्ने, गाईभैँसी सडकमा छाड्ने, सडकमा दूध पोख्ने तथा गोबरले सडक पुर्ने जस्ता विरोधका कार्यक्रम गर्न सकिने उनीहरूले बताएका छन्।
धनकुटामा हाल दैनिक करिब २५ हजार लिटर दूध उत्पादन हुँदै आएको छ। यहाँ उत्पादित दूधमध्ये करिब ५५ प्रतिशत धरान, विराटनगरलगायतका सहरमा बिक्रीका लागि पठाइन्छ भने बाँकी दूध स्थानीय बजार तथा आसपासका क्षेत्रमा खपत हुने गरेको छ।
ग्रामीण क्षेत्रका किसानको आम्दानीको प्रमुख स्रोतका रूपमा रहेको दुग्ध व्यवसाय उत्पादन लागतअनुसारको मूल्य नपाउँदा सङ्कटमा पर्दै गएको छ। उचित मूल्य र बजारको अभावका कारण किसान यस व्यवसायबाट पलायन हुनुपर्ने जोखिमसमेत बढेको छ।
त्यसैले दूधको उचित मूल्य निर्धारण, बजारको सुनिश्चितता तथा दुग्ध क्षेत्रका विद्यमान समस्या समाधानका लागि सरकारले तत्काल पहल गर्नुपर्ने किसानको माग छ।