काठमाडौं । सामाजिक सुरक्षा कोषमा हालसम्म १ खर्ब २९ अर्ब ६४ करोड रुपैयाँ योगदान संकलन भएको छ। गत असोज मसान्तसम्म औपचारिक, वैदेशिक रोजगारी, अनौपचारिक तथा स्वरोजगार क्षेत्रका गरी ३२ लाख ४३ हजार ७०१ जना कोषमा आबद्ध भएको कोषले जनाएको छ।
कोषमा आबद्ध हुनेमध्ये सबैभन्दा ठूलो हिस्सा वैदेशिक रोजगारीमा रहेका श्रमिकको छ। यस क्षेत्रबाट मात्रै २४ लाख ५० हजार ९५८ जना आबद्ध भएका छन्। यो कुल योगदानकर्ताको करिब ७५ प्रतिशत हो। त्यस्तै, औपचारिक क्षेत्रबाट ७ लाख ९० हजार ८३ जना, अनौपचारिक क्षेत्रबाट १ हजार १६८ जना र स्वरोजगार क्षेत्रबाट १ हजार ४९२ जना कोषमा जोडिएका छन्।
औपचारिक क्षेत्रका योगदानकर्ता सातै प्रदेशबाट आबद्ध भए पनि बागमती प्रदेश सबैभन्दा अगाडि छ। कोषका अनुसार औपचारिक क्षेत्रबाट २३ हजार ८०७ रोजगारदाता संस्था आबद्ध छन्। तीमध्ये बागमतीका मात्रै १५ हजार ५५१ संस्था छन्।
वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने व्यवस्था कार्यान्वयनमा आएपछि यस क्षेत्रबाट योगदानकर्ता उल्लेख्य रूपमा थपिएका हुन्। तर, श्रम बजारमा ठूलो हिस्सा ओगट्ने अनौपचारिक तथा स्वरोजगार क्षेत्रको सहभागिता भने न्यून छ। ३२ लाखभन्दा बढी योगदानकर्ता आबद्ध हुँदा यी दुई क्षेत्रबाट क्रमशः १ हजार १६८ र १ हजार ४९२ जना मात्रै जोडिएका छन्। यसले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा समेट्न अझै चुनौती रहेको देखाउँछ।
चार योजनामा योगदान संकलन
कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्ध अवस्था सुरक्षा योजनामार्फत योगदान रकम परिचालन गर्दै आएको छ। यी योजनासहित अन्य योगदान तथा प्रतिफलसमेत जोड्दा हालसम्म १ खर्ब २९ अर्ब ६४ करोड रुपैयाँ संकलन भएको कोषको तथ्यांक छ।
यस अवधिमा कोषले विभिन्न शीर्षकमा २२ अर्ब ९० करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ। कोषमा आबद्ध श्रमिकले योगदानका आधारमा स्वास्थ्य उपचार, दुर्घटना तथा अशक्ततासम्बन्धी सुरक्षा, आश्रित परिवारका लागि सुविधा तथा वृद्धावस्थामा पेन्सन र अवकाश सुविधा पाउने व्यवस्था छ।