काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन तुर्किए पुगेका मन्त्री खनालले अन्ताल्यामा आज महासचिव गुटेरेससँग भेट गरेका हुन् ।
भेटका क्रममा मन्त्री खनालले हालै भोटेकोशी क्षेत्रमा आएको जलवायुजन्य बाढीपछि नेपालप्रति समवेदना तथा ऐक्यबद्धता व्यक्त गरेकामा महासचिव गुटेरेसलाई धन्यवाद दिए । उनले बहुपक्षीयता, विश्व शान्ति, मानवीय गरिमा र दिगो विकासका क्षेत्रमा संयुक्त राष्ट्रसङ्घको नेतृत्व गर्दै गुटेरेसले पुर्याएको योगदानको प्रशंसासमेत गरे ।
त्यस अवसरमा महासचिव गुटेरेसले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना मिसनमा सेना तथा प्रहरी पठाउने प्रमुख राष्ट्रमध्ये एक नेपालले विश्व शान्ति र स्थायित्वका लागि पुर्याउँदै आएको योगदानको सराहना गरे ।
भेटमा भोटेकोशी बाढीपछिको पुनःस्थापना तथा पुनर्निर्माण, विश्वव्यापी शासन प्रणालीमा सुधार, बहुप्रकोप पूर्वसूचना प्रणालीको विकास, जलवायु वित्तमा वृद्धि तथा जलवायु कार्यका विषयमा छलफल भएको थियो ।
दुवै पक्षबीच क्षेत्रीय तथा विश्वव्यापी महत्वका विषयमा समेत विचार आदानप्रदान भएको थियो । जलवायु परिवर्तनका चुनौती सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य र बहुपक्षीय प्रयासलाई थप प्रभावकारी बनाउने विषयमा पनि उनीहरूबीच छलफल भएको जनाइएको छ ।