जनकपुरधाम । छठ पर्वलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभर सुरक्षा व्यवस्था कडा पारेको छ। जनकपुरधाममा विशिष्ट तथा अति विशिष्ट व्यक्तित्व (भीआईपी) को सम्भावित आगमनलाई ध्यानमा राखेर छुट्टै सुरक्षा व्यवस्थापनको तयारीसमेत गरिएको छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बिहीबार जनकपुरधाममा छठका अवसरमा नदी, पोखरी तथा घाटहरूमा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई संयुक्त रूपमा परिचालन गरिएको जानकारी दिए। एकीकृत जिल्ला सुरक्षा योजनाअन्तर्गत सुरक्षा व्यवस्था मिलाइएको र छठ पूजा समितिहरूसँग निरन्तर समन्वय तथा छलफल भइरहेको उनले बताए।
उनका अनुसार जनकपुरधामका विभिन्न पोखरी, नदी किनार तथा छठ घाटमा सरसफाइ र व्यवस्थापनका काम भइरहेका छन्। धार्मिक सहिष्णुता, सद्भाव, सामाजिक एकता र भाइचारासहित छठ पर्व शान्तिपूर्ण रूपमा मनाउन उनले सबै श्रद्धालु भक्तजनलाई आग्रह गरे।
यसैबीच, जनकपुरधाममा छठ पूजामा विशिष्ट तथा अति विशिष्ट व्यक्तित्वहरू सहभागी हुन सक्ने सूचनाका आधारमा सुरक्षा समितिले थप व्यवस्थापनको तयारी गरेको छ। विभिन्न राजनीतिक दल तथा सञ्चारमाध्यमबाट उनीहरूको सम्भावित आगमनबारे जानकारी प्राप्त भएको लुइँटेलले बताए। आगमनको मिति र सहभागी हुने व्यक्तिहरू निश्चित भएपछि थप सुरक्षा तथा व्यवस्थापकीय प्रबन्ध मिलाइने उनले जानकारी दिए।
विशिष्ट व्यक्तित्वहरूको आगमनले सर्वसाधारणको पूजाआजा र दर्शनमा असर नपर्ने गरी व्यवस्था मिलाइने लुइँटेलले स्पष्ट पारे। आम नागरिकले विगतदेखि मनाउँदै आएको आस्था र परम्पराअनुसार छठ पूजा गर्न पाउने गरी सुरक्षा तथा व्यवस्थापन गरिने उनको भनाइ छ।