सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित बलान खोलाबाट प्रहरीले २३१ किलो ८०० ग्राम गाँजा बरामद गरेको छ।
सिरहा र सप्तरीको सिमानामा पर्ने खोलाको बीचमा खाल्डो खनेर लुकाइएको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेको हो। गाँजा लुकाइएको विशेष सूचनाका आधारमा प्रहरीले राति करिब १ बजे खोजतलास गर्दा खाल्डोभित्र लुकाएर राखिएको गाँजाजस्तो देखिने पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरीका अनुसार गाँजा लुकाइएको स्थानमा कुनै व्यक्ति फेला परेनन्। बरामद पदार्थको थप अनुसन्धान भइरहेको छ।
सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकले विभिन्न नदी तथा खोलाको बाटो प्रयोग गरी गाँजा भारततर्फ तस्करी हुने गरेको बताए। दुर्गम नदी क्षेत्रलाई तस्करीको माध्यम बनाउने गतिविधि नियन्त्रण गर्न प्रहरीले निगरानी बढाएको उनले जानकारी दिए।