जनकपुरधाम । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कानूनको नाममा राजनीतिक प्रतिशोध, मनपरी गिरफ्तारी र व्यक्तिको मानमर्दन गर्ने कार्य स्वीकार्य नहुने बताएका छन्। उनले दुई तिहाइ बहुमत प्राप्त गर्दैमा सरकारले जे गरे पनि हुन्छ भन्ने सोच लोकतान्त्रिक मूल्य र विधिको शासनविपरीत हुने बताए।
बिहीबार जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै पौडेलले मधेसका समस्या र आवश्यकतालाई सम्बोधन गर्ने गरी पार्टीको एजेन्डा तथा योजना निर्माण गर्नुपर्नेमा जोड दिए। मधेसका समस्या र आवश्यकता स्थानीय नागरिकले नै बढी बुझ्ने भएकाले उनीहरूले उठाएका मुद्दा, सुझाव र अपेक्षालाई कांग्रेसको केन्द्रीय योजनामा समेट्नुपर्ने उनको भनाइ थियो।
पार्टीका कार्यक्रम र योजना जनताको वास्तविक आवश्यकता र अपेक्षासँग जोडिनुपर्ने उल्लेख गर्दै उनले मधेसका मुद्दालाई राष्ट्रिय राजनीतिको प्राथमिकतामा राख्नुपर्ने बताए।
पौडेलले कांग्रेस सभापति गगनकुमार थापालाई सरकारले पक्राउ गर्न सक्ने आशंका व्यक्त गर्दै विधिको शासन र कानूनी प्रक्रियामाथि प्रश्न उठाए। सरकारले कानून र विधिको शासन पालना नगरेको अवस्थामा आफूहरू पक्राउ पर्न सक्ने सम्भावनालाई अस्वीकार गर्न नसकिने उनको भनाइ थियो।
सभापति थापाबारे एक बिचौलियाले दिएको भनिएको बयानमाथि प्रश्न उठाउँदै उनले सम्बन्धित व्यक्तिले प्रहरीसमक्ष त्यस्तो बयान दिएको भए प्रहरीले सार्वजनिक गरिसक्ने र सरकारले अदालतमा मुद्दा लैजान यति ढिलाइ नगर्ने तर्क गरे।
‘कानूनको नाममा हुने राजनीतिक प्रतिशोध, मनपरी गिरफ्तारी र व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैन,’ पौडेलले भने, ‘कुनै पनि आरोपको निष्पक्ष छानबिन र कानूनी प्रक्रियाबाट निरूपण हुनुपर्छ।’
सरकारले बहुमतका आडमा आलोचना गर्नेहरूलाई डर र त्रास सिर्जना गर्न खोजेको आरोप लगाउँदै पौडेलले सरकारका गलत काम र गतिविधिविरुद्ध बोल्नु प्रतिपक्षको जिम्मेवारी भएको बताए। पक्राउ र दबाबबाट कांग्रेसको आवाज नरोकिने उल्लेख गर्दै उनले विधिको शासन, लोकतान्त्रिक मूल्य र जनताको अधिकारका पक्षमा पार्टीले आवाज उठाइरहने बताए।