काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मकवानपुरको भीमफेदीमा भएको भीषण सवारी दुर्घटनामा परी यात्रुहरूको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
ओलीले शोक वक्तव्य जारी गर्दै छठ पर्व मनाउन उत्साहका साथ घर फर्किरहेका नागरिकले अकालमै ज्यान गुमाउनुपरेको घटनाले आफूलाई मर्माहत र स्तब्ध बनाएको बताएका छन् ।
उनले दुर्घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । साथै, दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
अध्यक्ष ओलीले घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकार र सम्बन्धित निकायसँग माग गरेका छन् ।
त्यसैगरी, मृतकका परिवारलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।