जनकपुरधाम । हिन्दु धर्मावलम्बीले यमपञ्चक पर्व मनाइरहेका बेला जनकपुरधाममा हनुमान जयन्ती मनाइएको छ।
हनुमान जयन्तीका अवसरमा मिथिलाञ्चल सांस्कृतिक कला परिषद्ले जनकपुरधामस्थित युगलजोडी मन्दिर विहार कुञ्जमा हनुमान चालिसा पाठ, भजनकीर्तनलगायत कार्यक्रम आयोजना गरेको छ। यसअघि परिषद्ले रेल्वे स्टेसनबाट शोभायात्रा निकालेर नगर परिक्रमा गरेको थियो। शोभायात्रामा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादव पनि सहभागी थिए।
सभामुख यादवले भगवान् हनुमान हिन्दु धर्मावलम्बीका घरघरमा पूजिने देवता भएको उल्लेख गर्दै उनको जन्मोत्सवका अवसरमा निकालिएको शोभायात्राले सनातन संस्कृतिको संरक्षणमा योगदान पुर्याउने बताए।
परिषद्का अध्यक्ष शम्भु साहले यमपञ्चककै समयमा हनुमान जयन्ती पर्ने भएकाले यो पर्व ओझेलमा परेको उल्लेख गर्दै आफूहरूले भव्य रूपमा मनाउन थालेको बताए। उनका अनुसार परिषद्ले विगत २० वर्षदेखि विभिन्न कार्यक्रम गरी हनुमान जयन्ती मनाउँदै आएको छ।
यसैबीच, जनकपुरधामस्थित संकटमोचन मन्दिरमा पनि बिहानैदेखि पूजाअर्चना गर्ने श्रद्धालुको घुइँचो लागेको थियो। हनुमानको पूजा तथा मन्त्र र स्तोत्र पाठ गर्दा शुभ फल प्राप्त हुने, शनिग्रहको दोषबाट बचिने र भूतप्रेतको बाधा नहुने धार्मिक विश्वास छ। त्यसैगरी, हनुमानको आराधनाले दाम्पत्य सुख प्राप्त हुने र पति–पत्नीबीचको कलह हट्ने जनविश्वास रहिआएको छ।
शास्त्रमा हनुमान जयन्तीको तिथिबारे मतैक्य छैन। चैत्र शुक्ल पूर्णिमालाई पनि हनुमानको जन्मजयन्तीका रूपमा मनाइन्छ। यद्यपि, वायु पुराणलगायतका शास्त्रमा कार्तिक शुक्ल चतुर्दशीलाई हनुमान जयन्तीका रूपमा उल्लेख गरिएको छ। धार्मिक मान्यताअनुसार चैत्र शुक्ल पूर्णिमा जन्मोत्सव र कार्तिक शुक्ल चतुर्दशी विजय अभिनन्दन महोत्सव हो।