काठमाडौं । तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित र गुणस्तरीय बनाउन नेपाल विद्युत् प्राधिकरणले विशेष तयारी गरेको छ। पर्वका बेला विद्युत् माग बढ्ने भए पनि आन्तरिक उत्पादनले नै माग धान्ने प्रक्षेपण गर्दै प्राधिकरणले आपूर्ति व्यवस्थापनदेखि सम्भावित प्राविधिक समस्या तत्काल समाधान गर्नेसम्मको व्यवस्था मिलाएको जनाएको छ।
पर्व अवधिभर विद्युत् उत्पादन, प्रसारण तथा वितरण प्रणाली चुस्त राख्न प्राधिकरणले कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राख्ने भएको छ। यसका लागि कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको वरिष्ठ व्यवस्थापन टोलीको बैठकले आपूर्ति व्यवस्थापन, प्रणाली सञ्चालन र सम्भावित चुनौतीको समीक्षासमेत गरेको छ।
त्यसैगरी, प्रणाली सञ्चालन विभाग (एलडीसी), ग्रिड सञ्चालन विभाग तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका प्रादेशिक र प्रदेश डिभिजन कार्यालय प्रमुखहरूसँग भर्चुअल बैठक गरी प्रणालीको निरन्तर निगरानी र आवश्यक जनशक्ति परिचालनबारे समन्वय गरिएको प्राधिकरणले जनाएको छ।
कार्यकारी निर्देशक श्रेष्ठले पर्व अवधिमा विद्युत् आपूर्तिमा अवरोध हुन नदिन आवश्यक तयारी पूरा गर्न सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिएका छन्। आपूर्तिमा समस्या देखिए तत्काल मर्मतसम्भार गरी सेवा सुचारु गर्न प्राविधिक टोली तयारी अवस्थामा राख्न, प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भारका बाँकी काम सम्पन्न गर्न तथा उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न उनले निर्देशन दिएका छन्। नो लाइट सेवामा प्राप्त हुने फोन नियमित उठाउने र गुनासो व्यवस्थापन प्रभावकारी बनाउनसमेत प्राधिकरणले सम्बन्धित कार्यालयलाई भनेको छ।
प्राधिकरणका अनुसार तिहारको लक्ष्मीपूजाका दिन साँझ विद्युत्को अधिकतम माग करिब एक हजार सात सय मेगावाट पुग्ने अनुमान छ। सोही समयमा विद्युत् उत्पादन भने करिब दुई हजार पाँच सय मेगावाट हुने प्रक्षेपण गरिएको छ। आन्तरिक मागभन्दा उत्पादन बढी हुने भएकाले पर्व अवधिमा विद्युत् आपूर्तिका लागि पर्याप्त ऊर्जा उपलब्ध हुने कार्यकारी निर्देशक श्रेष्ठले बताएका छन्।
विद्युत्को माग र आपूर्तिको अवस्थाबारे एलडीसी, ग्रिड सञ्चालन विभाग तथा वितरण केन्द्रबीच निरन्तर समन्वय र अनुगमन गरिने पनि प्राधिकरणले जनाएको छ। प्रणालीमा आउन सक्ने सम्भावित समस्या समयमै पहिचान गरी समाधान गर्न प्राविधिक तथा व्यवस्थापकीय तयारी गरिएको छ।
यसैबीच, प्राधिकरणले तिहार तथा छठमा विद्युत्को सुरक्षित प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ। घरमा प्रयोग हुने विद्युतीय उपकरण र तारको अवस्था जाँच गर्न, गुणस्तरहीन सामग्री प्रयोग नगर्न तथा विद्युत् चुहावट वा तारमा समस्या देखिए आफैँ मर्मत नगरी दक्ष प्राविधिकबाट गराउन प्राधिकरणले अनुरोध गरेको छ। विद्युत् आपूर्तिसम्बन्धी समस्या वा गुनासो भए नजिकको वितरण केन्द्र वा सम्बन्धित नो लाइट सेवामा सम्पर्क गर्न पनि उसले आग्रह गरेको छ।