चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार सञ्चालनमा पार्टी बाधक नबन्ने तर देशमा विधिको शासन स्थापना र बेथिति अन्त्यका लागि निरन्तर सचेत गराइरहने बताएका छन् ।
चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले पार्टी संगठन र सरकारबीच कुनै द्वन्द्व नरहेको स्पष्ट पारे । पार्टी र सरकारले नागरिकको सेवालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिँदै उनले कार्यकर्तालाई मर्यादित र सुसंस्कृत राजनीतिक संस्कार अपनाउन निर्देशन दिए।
उनले न्यायालय, प्रहरी र प्रशासनजस्ता राज्यका संस्थाको मनोबल कमजोर हुने गरी सार्वजनिक रूपमा अप्रमाणित टिप्पणी नगर्न आग्रह गरे । ती संस्थाभित्रका बेथिति भने विधिसम्मत ढङ्गले अन्त्य गर्नुपर्ने उनको भनाइ थियो ।
पार्टीभित्र धनशक्तिको प्रभाव बढ्न सक्नेप्रति चिन्ता व्यक्त गर्दै लामिछानेले कुनै व्यक्ति वा समूहको स्वार्थमा पार्टी सञ्चालन हुन नहुने बताए । पार्टी विचार, सिद्धान्त र विधिबाट चल्नुपर्ने उल्लेख गर्दै उनले आर्थिक शक्तिको प्रभावमा पार्टी कब्जा गर्ने प्रवृत्तिप्रति सचेत रहन कार्यकर्तालाई आग्रह गरे।
फरक विचार राख्नेप्रति सामाजिक सञ्जालमा अश्लील र अमर्यादित भाषा प्रयोग गर्ने प्रवृत्तिको आलोचना गर्दै उनले आलोचनाको जवाफ सभ्य र मर्यादित रूपमा दिनुपर्ने बताए । यस्तो व्यवहारले व्यक्ति मात्र नभई पार्टी र मतदाताको प्रतिष्ठामा समेत आँच पुग्ने उनको भनाइ थियो ।
‘हामी विधिको शासन, कानुनी राज्य र निष्पक्ष अनुसन्धानमार्फत सुशासन कायम गर्न आएका हौँ । जनतामा आशा र भ्रष्टाचारीमा त्रास सिर्जना हुनुपर्छ, तर नागरिकमा त्रास फैलिनु हुँदैन,’ लामिछानेले भने ।
उनले सरकारका निर्णयमाथि प्रश्न उठाउन सकिने भए पनि त्यसलाई अनावश्यक विवाद वा पार्टीभित्रको द्वन्द्वका रूपमा प्रस्तुत गर्न नहुने बताए । लोकतान्त्रिक मूल्य, मान्यता र संस्थागत मर्यादा कमजोर पार्ने गतिविधि पार्टीले स्वीकार नगर्ने उनको भनाइ थियो ।
आफूले बोलेका कुराप्रति जिम्मेवार रहेको उल्लेख गर्दै लामिछानेले आफ्नो अभिव्यक्तिलाई बंग्याएर विभिन्न अर्थ लगाउन सकिने भए पनि पार्टी लोकतान्त्रिक विधि र मूल्य–मान्यताबाट विचलित नहुने बताए । उनले रास्वपाले देशव्यापी रूपमा ‘नीलो क्रान्ति’ फैलाउने दाबी गर्दै कार्यकर्तालाई अनुशासित भएर अभियानमा लाग्न आह्वान गरे ।