भोजपुर । निरन्तर वर्षापछि मौसममा सुधार आएसँगै भोजपुरका किसानलाई धान भित्र्याउने चटारो परेको छ । वर्षाका कारण रोकिएको धान काट्ने र थन्क्याउने काम मौसम खुलेपछि पुनः सुरु भएको हो । किसान बिहानैदेखि खेतबारीमा पुगेर धान भित्र्याउन व्यस्त हुन थालेका छन् ।
धान पाकेर खेत पहेँलपुर भएका बेला परेको बेमौसमी वर्षाले धान भित्र्याउने काम प्रभावित बनाएको थियो । अहिले मौसममा सुधार आएपछि किसान धान काट्ने, मुठा बाँध्ने, सुकाउने र घरमा भण्डारण गर्ने काममा जुटेका छन् । कतिपय स्थानमा एकअर्कालाई सहयोग गर्दै अर्मपर्ममार्फत धान थन्क्याउने काम भइरहेको छ ।
भोजपुर नगरपालिका–५ का किसान बमबहादुर कार्कीले मौसम खुलेपछि धान भित्र्याउन सहज भएको बताए । केही दिनअघिको वर्षाले धान थन्क्याउन ढिलाइ भए पनि अहिले सहज भएको उनको भनाइ छ ।
उनले अर्मपर्म गरेर भए पनि सबै किसान आ–आफ्नो खेतको धान भित्र्याउन लागिपरेको बताए ।
त्यस्तै, स्थानीय किसान नवराज फुयाँलले अन्य काम छाडेर किसान धान भण्डारणमा केन्द्रित भएको बताए । वर्षाका कारण धानबालीमा क्षति पुगे पनि बाँकी उत्पादन जोगाउन किसान सक्रिय रहेको उनले उल्लेख गरे ।
धान भित्र्याउने समय भएकाले गाउँघरमा खेतला पाउनसमेत मुस्किल हुन थालेको उनको भनाइ छ ।
भोजपुरका किसानको प्रमुख खाद्यबालीका रूपमा रहेको धान जिल्लाका नौवटै स्थानीय तहमा खेती गरिन्छ । मौसममा सुधार आएपछि धान भित्र्याउन सहज भए पनि बेमौसमी वर्षाका कारण बालीमा पुगेको क्षतिले किसानलाई चिन्तित बनाएको छ ।