पोखरा । पोखरा महानगरपालिकाले फिर्के खोला अतिक्रमण हटाउने अभियानलाई तीव्रता दिएको छ। असोज १५ गतेदेखि सुरु गरिएको अभियानअन्तर्गत खोलाको मापदण्ड मिचेर बनाइएका २६ वटा पक्की संरचना भत्काइएको महानगरले जनाएको छ।
फेवातालको वातावरणीय सन्तुलन र पोखराको सौन्दर्य कायम राख्ने उद्देश्यले सुरु गरिएको अभियानमा अवैध संरचना हटाउनुका साथै खोलाका दुवै किनारमा करिडोर निर्माणको काम पनि अघि बढाइएको छ। करिडोर निर्माणपछि उक्त क्षेत्रमा व्यवस्थित सडक सञ्जाल र ढल निकासको व्यवस्था हुने महानगरको अपेक्षा छ।
अभियानका क्रममा फिर्के खोला अतिक्रमण प्रकरणमा जोडिएका पूर्वमाओवादी नेता ज्ञानबहादुर कोइरालाको पाँचतले पक्की भवनसमेत भत्काइएको छ। आफ्नो संरचना हटाइनेबारे पहिले नै जानकारी रहेको बताउँदै कोईरालाले तत्कालीन समयमा आवेगमा आएर गल्ती गरेको स्वीकार गरेका छन्।
महानगरको अभियानलाई स्थानीयले अधिकांशतः स्वागत गरे पनि संरचना हटाएपछि खोलाको दीर्घकालीन व्यवस्थापन र सौन्दर्यीकरणलाई कसरी अघि बढाइन्छ भन्नेमा केही आशंका व्यक्त गरेका छन्। महानगरले भने अतिक्रमण हटाउने कामलाई फिर्के खोलाको दीर्घकालीन संरक्षण र व्यवस्थित सहर निर्माणकै हिस्साका रूपमा अघि बढाइएको जनाएको छ।