काठमाडौं । नेपाल बार एसोसिएसनले न्यायक्षेत्रमा पछिल्लो समय उठेका विभिन्न सवाल र टिप्पणीबारे अध्ययन गर्न समिति गठन गरेको छ।
बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा गठित समितिमा सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष पूर्णमान शाक्य, नेपाल बारका पूर्वउपाध्यक्षद्वय उषा मल्ल पाठक र सुरेन्द्रकुमार महतो तथा पूर्वसदस्य चन्द्रप्रसाद काफ्ले सदस्य रहेका छन्। समितिको सदस्य सचिवमा बारका केन्द्रीय सदस्य बाबुराम अर्याल रहेका छन्।
समितिलाई न्यायालयका विषयमा उठेका टिप्पणीको तथ्य सङ्कलन गरी समग्र न्यायक्षेत्रको सुधार र उन्नयनका लागि आवश्यक सुझावसहितको प्रतिवेदन एक महिनाभित्र तयार गर्ने जिम्मेवारी दिइएको छ। बारका महासचिव केदारप्रसाद कोइरालाले समितिले तोकिएको समयसीमाभित्र अध्ययन पूरा गर्ने जानकारी दिए।
बारको कार्यसमिति र सल्लाहकार समितिसहितको संयुक्त बैठकले न्यायपालिकासम्बन्धी समसामयिक विषयमा अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको हो।