भोजपुर । गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन थालेपछि भोजपुरका किसानलाई धान काट्न र थन्क्याउन समस्या हुन थालेको छ । खेतीपातीका लागि आवश्यक जनशक्ति अभाव हुँदा पाकेको धान समयमै भित्र्याउन किसानलाई कठिनाइ भएको हो ।
वर्षभरि मेहनत गरेर उत्पादन गरेको धान भित्र्याउने समयमा कामदार खोज्नुपर्ने बाध्यता किसानलाई छ । वैदेशिक रोजगारी र सहरकेन्द्रित बसाइँसराइका कारण गाउँमा युवा जनशक्ति घट्दै गएपछि कृषि कार्य प्रभावित हुन थालेको स्थानीय किसान बताउँछन् ।
धान काट्ने, बिटा बाँध्ने, खेतबाट खलोमा पुर्याउने, झाँट्ने, बत्ताउने र घरसम्म भित्र्याउनेलगायतका काममा बढी शारीरिक श्रम आवश्यक पर्ने भएकाले युवा अभावले किसानलाई थप मर्का परेको छ ।
टेम्केमैयुङ गाउँपालिका–६ का किसान बलबहादुर राईले वैदेशिक रोजगारी तथा सहरतर्फको बसाइँसराइका कारण गाउँमा युवा जनशक्ति पाउन मुस्किल हुँदै गएको बताए । विगतमा गाउँघरमै पर्याप्त कामदार उपलब्ध हुने गरे पनि अहिले धान थन्क्याउने समयमा जनशक्ति जुटाउन कठिन हुने गरेको उनको भनाइ छ ।
“गाउँमा खेती गर्ने युवा घट्दै गएका छन् । धान पाकेपछि काट्ने, बिटा बाँध्ने, बोकेर खलोमा पुर्याउने र झाँटेर घरसम्म भित्र्याउने काममा बलियो जनशक्ति चाहिन्छ । तर, अहिले गाउँमा युवा नहुँदा यी काम गर्न कठिन भएको छ,” उनले भने ।
हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसान जयबहादुर थापाले खेतीपातीको काम महिला र ज्येष्ठ नागरिककै भरमा गर्नुपर्ने अवस्था रहेको बताए । युवा गाउँमा नहुँदा परिवारका सदस्य मिलेर खेतीको काम पूरा गर्नुपर्ने बाध्यता रहेको उनले सुनाए ।
खेतीपातीमा शारीरिक श्रम बढी लाग्ने भएकाले महिला तथा ज्येष्ठ नागरिकलाई धान काट्न र भित्र्याउन कठिन हुने गरेको छ । जनशक्ति अभावका कारण परिवारका सदस्यले बढी मेहनत गर्नुपर्ने र काम सम्पन्न गर्न पनि लामो समय लाग्ने गरेको किसानको भनाइ छ ।
परम्परागत रूपमा गाउँघरमा एकअर्काको खेतीमा सघाउने मेलापातको चलन रहे पनि युवा जनशक्ति घट्दै जाँदा उक्त परम्परा कायम राख्नसमेत कठिन हुन थालेको छ । विगतमा छिमेकी तथा आफन्त मिलेर पालैपालो धान काट्ने र थन्क्याउने गरिए पनि अहिले काम गर्ने मानिसको अभावले किसान थप समस्यामा परेका छन् ।
किसानले कृषि क्षेत्रको जनशक्ति अभाव समाधान गर्न स्थानीय सरकारले युवालाई गाउँमै बसेर कृषि पेसा गर्न प्रोत्साहित गर्नुपर्ने बताएका छन् । साथै, कृषि यान्त्रिकीकरण र आधुनिक खेती प्रणालीको प्रयोग बढाउन सके श्रम अभाव कम हुनुका साथै उत्पादन लागत घटाउन पनि सहयोग पुग्ने उनीहरूको अपेक्षा छ ।