चितवन । कात्तिक ११ देखि १४ गतेसम्म परेको वर्षाका कारण चितवनमा व्यावसायिक रूपमा गरिएको सयपत्री फूलखेतीमा ठूलो क्षति पुगेको छ । फक्रिएर बजारमा पठाउने तयारीमा रहेका फूल पानीले भिजेपछि किसानले उत्पादनको ठूलो हिस्सा गुमाएका छन् ।
भरतपुर महानगरपालिका–२६ का किसान दीपक पाख्रिनले आफूले लगाएको फूलखेतीमा फक्रिएका करिब ७० प्रतिशत फूल नोक्सान भएको बताए । दुई बिघा क्षेत्रफलमा सयपत्री खेती गरेका उनले बजारमा पठाउने तयारी भइरहेका बेला परेको वर्षाले फूलका हाँगा भाँचिएको र भिजेका फूल टिपेर पठाउँदा कालो हुने समस्या आएको बताए ।
उनका अनुसार एक बिघामा फूलखेती गर्न एक लाख ५० हजार रुपैयाँभन्दा बढी खर्च लाग्ने गरेको छ । दसैँपछि फूल टिपेर माला बनाई भण्डारण गर्ने योजना भए पनि बजारमा माग नहुँदा ढिलाइ भएको र पछिल्लो वर्षाले थप क्षति पुर्याएको उनले बताए ।
जिल्ला कृषि विकास कार्यालय चितवनकी बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार तीन दिनसम्म परेको वर्षाले फक्रिएर बजारमा लैजान तयार भएका फूलमा क्षति पुगेको हो । जिल्लामा लगाइएको कुल फूलमध्ये ६० देखि ७० प्रतिशत फक्रिएको अवस्थामा रहेको र त्यसमध्ये ५० प्रतिशतभन्दा बढी फूलमा क्षति पुगेको उनले जानकारी दिइन् । कोपिला लागेका फूलमा भने वर्षाले खासै असर नगरेको उनको भनाइ छ ।
यस वर्ष चितवनमा ४४ हेक्टर क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको छ । प्रतिहेक्टर एक हजार किलोका दरले उत्पादन हुने अनुमान गरिएको थियो । अनुमानित उत्पादनले जिल्लाको माग धान्नुका साथै छिमेकी जिल्लामा समेत आपूर्ति गर्न सकिने अवस्था रहे पनि वर्षाका कारण उत्पादन प्रभावित भएको छ ।
फूलमा क्षति पुगेपछि यस वर्ष बजारमा सयपत्रीको मूल्य बढ्न सक्ने चौहानले बताइन् । उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष फूलखेतीको क्षेत्रफल दोब्बरभन्दा बढी विस्तार भएको छ । गत वर्ष २१ दशमलव ९२ हेक्टरमा सयपत्री खेती गरिएको थियो ।
यस वर्ष जिल्लामा टिनिस १, थाई टिनिस, टिनिस २, सुमति र कर्मा ५५५ जातका सयपत्री लगाइएको छ । गत वर्ष चितवनमा १३१ दशमलव चार मेट्रिक टन सयपत्री फूल उत्पादन भएको थियो ।
जिल्लाका सातवटै पालिकामा चाडपर्वलाई लक्षित गरी व्यावसायिक फूलखेती हुँदै आएको छ । तीमध्ये सबैभन्दा बढी खेती भरतपुर महानगरपालिकामा हुने गरेको छ । थोरै जग्गामा समेत राम्रो उत्पादन लिन सकिने र गत वर्ष फूलको राम्रो मूल्य पाउनुका साथै बजारमा अभाव देखिएकाले यस वर्ष किसान सयपत्री खेतीतर्फ आकर्षित भएका थिए । तर, बेमौसमी वर्षाले किसानको लगानी र आम्दानी दुवै प्रभावित बनाएको छ ।