भोजपुर– भोजपुरका पहाडी खेतहरू यतिबेला पाकेर पहेँलपुर बनेका छन्। धानका बालाले खेतबारी ढाकिएपछि गाउँघरको वातावरण रमणीय बनेको छ। धान थन्क्याउने मुख्य समयमै दसैँ परेकाले किसानहरू अहिले परिवार र आफन्तसँग चाडपर्वको खुसी साटासाट गर्न व्यस्त छन्।
भोजपुर नगरपालिका–६ की किसान सङ्गीता खड्काका अनुसार दसैँको टीका–जमरा र खानपिन सकिएलगत्तै धान काट्ने र भित्र्याउने चटारो सुरु हुनेछ। कात्तिक महिनाको सुरुआतसँगै पहाडी भेगको प्रमुख खाद्यान्न बाली धान पाकेर पहेँलपुर बनेपछि यहाँका खेतबारी आकर्षक देखिएका छन्।
यस वर्ष अनुकूल मौसम, समयमै भएको मनसुन र पर्याप्त सिँचाइका कारण धान उत्पादन राम्रो हुने किसानको अपेक्षा छ। भोजपुर नगरपालिका–५ का किसान भीमसेन फुयालले पाकेको धानले गाउँघर र डाँडापाखाको सौन्दर्य बढाएको बताए।
दसैँ सकिएलगत्तै किसानहरू खेतमा पुगेर धान काट्ने, मुठा बाँध्ने, दाइँ हाल्ने र भण्डारण गर्ने काममा जुट्नेछन्। गाउँघरमा परम्परागत रूपमा प्रचलित ‘अर्मपर्म’ प्रथामार्फत एकअर्कालाई सघाउँदै धान भित्र्याउने चलन रहेको फुयालले बताए।
मेसिनरी औजारको पहुँच सहज नभएका भिराला खेतमा परिवारका सदस्य र छिमेकी मिलेर धान काट्ने तथा भित्र्याउने गरिन्छ। वर्षभरिका लागि आवश्यक मुख्य खाद्यान्न बाली सुरक्षित रूपमा घरमा भित्र्याउन पाएपछि किसानलाई राहत मिल्ने फुयालको भनाइ छ।