काठमाडौं । सोलुखुम्बुमा अवतरणका क्रममा दुई हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको हो । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार फिस्टेल एयर र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किएका हुन् ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अवतरणका क्रममा दुवै हेलिकोप्टरका पंखा एकआपसमा ठोक्किएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए । घटनाबारे थप विवरण संकलन भइरहेको उनले जानकारी दिए ।