काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा (नासु) यदुनाथ आचार्यसहित छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगले आचार्यले नौ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै सोही रकम बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ।
आयोगका अनुसार आचार्य २०५४ माघ २ गते जिल्ला विकास समितिको कार्यालय खोटाङमा गाविस सचिवका रूपमा नियुक्त भएका थिए। सार्वजनिक पदमा बहाल रहेको २०८० मङ्सिर २१ गतेसम्मको अवधिलाई आधार मानेर उनको सम्पत्ति तथा आयव्ययमाथि अनुसन्धान गरिएको थियो।
अनुसन्धानका क्रममा आचार्य र उनीसँग एकासगोलमा रहेका परिवारका सदस्यहरूको वैध आय छ करोड २५ लाख ६३ हजार ३४५ रुपैयाँ रहेको देखिएको छ। तर, सोही अवधिमा उनीहरूले १५ करोड ९८ लाख ३५ हजार ३३५ रुपैयाँ खर्च तथा लगानी गरेको आयोगले जनाएको छ।
वैध आम्दानीको तुलनामा खर्च तथा लगानी अस्वाभाविक रूपमा बढी देखिएपछि नौ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको निष्कर्षसहित आयोगले मुद्दा दायर गरेको हो।
आयोगले आचार्यकी श्रीमती ललिता राजभण्डारी तथा छोरीहरू निलु आचार्य र सरु आचार्यविरुद्ध पनि सोही बिगो बराबरको मागदाबी गरेको छ। यस्तै, भक्तपुरको मध्यपुरथिमि–२ की प्रभा बस्नेत र काठमाडौंको पेप्सीकोलाकी कुमारी कटुवालविरुद्ध ३८ लाख ८६ हजार १८२ रुपैयाँ बिगो मागदाबी गरिएको छ।
यसैगरी, आयोगले आचार्य र उनका परिवारका सदस्यविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ बमोजिमको कसुरमा छुट्टै मुद्दासमेत दायर गरेको जनाएको छ।