जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाले स्थानीय सेवाग्राहीलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले गाउँपालिकाबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु गरेको छ ।
यातायात व्यवस्था कार्यालय जनकपुरधाम र बर्दिबासबाट सञ्चालित परीक्षामा उत्तीर्ण भएका गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गरी पालिकाबाटै अनुमतिपत्र उपलब्ध गराउने व्यवस्था गरिएको हो ।
गाउँपालिका अध्यक्ष राजकुमार साहका अनुसार चालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेका स्थानीय युवालाई सहज रूपमा सेवा दिने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो ।
उनले पहिलो चरणमा यातायात व्यवस्था कार्यालय बर्दिबासबाट सञ्चालित प्रयोगात्मक परीक्षा (ट्रायल) उत्तीर्ण गरेका गाउँपालिकाका ४५ जनाको अनुमतिपत्र प्राप्त भएकाले वितरण सुरु गरिएको बताए ।
पालिकाबाटै लाइसेन्स पाउन थालेपछि अनुमतिपत्र लिन यातायात कार्यालयसम्म धाउनुपर्ने बाध्यता हट्ने र सेवाग्राहीको समय तथा खर्च बचत हुने अपेक्षा गरिएको छ ।
विशेषगरी ग्रामीण क्षेत्रका स्थानीयवासीलाई यातायात कार्यालयसम्म पुग्न लाग्ने झन्झट कम हुनुका साथै यस व्यवस्थाले सेवा प्रवाहलाई थप सहज बनाउने विश्वास गरिएको छ ।