काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौँ गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो ।
कर्णालीका लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए । उनले २२ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै हुसेन तलतले ३० बलमा १ चौका र २ छक्कासहित ४० रनको योगदान दिए ।
पवन सर्राफले २३ बलमा २ छक्काको मद्दतमा अविजित ३० रन बनाए । गुल्सन झाले १२ बलमा २ छक्का प्रहार गर्दै २० रन जोडे ।
कर्णालीले बंगलादेशी खेलाडी जिशान आलमलाई ओपनिङमा उतारेको थियो । आइतबार मात्रै नेपाल आइपुगेका उनले एनपीएलमा पहिलो खेल खेलेका हुन् । तर, टोलीको स्कोर २० रन हुँदा उनी व्यक्तिगत ७ रन बनाएर आउट भए ।
दोस्रो विकेटका लागि अरिफुल इस्लाम र मार्क वाटले ४६ रनको साझेदारी गरेका थिए । त्यसपछि १२ रनको अन्तरमा अरिफुल, दीपक डुम्रे र मार्क वाट आउट भएपछि कर्णाली ७८ रनमा ४ विकेट गुमाएको अवस्थामा पुगेको थियो ।
तर, पवन सर्राफ र हुसेन तलतले पाँचौँ विकेटका लागि ६५ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीको इनिङ्स सम्हाले । १७औँ ओभरको अन्तिम बलमा हिट विकेट हुनुअघि तलतले सर्राफसँग उक्त साझेदारी गरेका थिए ।
त्यसपछि पवन सर्राफ र गुल्सन झाले १६ बलमा २८ रनको साझेदारी गर्दै कर्णालीलाई १८० रनको योगफलसम्म पुर्याए ।
काठमाडौँका लागि कप्तान करण केसीले २ विकेट लिए । शाहब आलम, जहानदान खान, देव शाह र सन्तोष यादवले समान १–१ विकेट हात पारे ।