काठमाडौं । पोखरामा प्रथम राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप–२०२६ आयोजना हुने भएको छ । गण्डकी प्रदेश टेनिस सङ्घको आयोजनामा कात्तिक १८ देखि २१ गतेसम्म पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
आयोजकका अनुसार प्रतियोगितामा देशभरका ४३ जना जुनियर खेलाडी सहभागी हुनेछन् । नेपाल टेनिस सङ्घको स्वीकृति तथा कास्की जिल्ला टेनिस सङ्घको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा ८ देखि १८ वर्षमुनिका बालक तथा बालिकाले विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता संयोजक लोकबहादुर गुरुङका अनुसार यू–८, यू–९, यू–१०, यू–१२, यू–१४, यू–१६ र यू–१८ उमेर समूहमा सिङ्गल्स तथा डबल्स विधाका खेल सञ्चालन गरिनेछन् । प्रतियोगिताका विजेतालाई आकर्षक उपहार प्रदान गरिनेछ ।
राष्ट्रियस्तरका प्रतिभाशाली जुनियर खेलाडी पहिचान गर्नुका साथै टेनिस खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि र खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको गुरुङले बताए ।
गण्डकी प्रदेश टेनिस सङ्घले स्थापनाकालदेखि नै जुनियर खेलाडीको प्रशिक्षण र उत्पादनलाई प्राथमिकता दिँदै आएको छ । सङ्घका अनुसार तीन वर्षको अवधिमा एक दर्जनभन्दा बढी खेलाडी राष्ट्रिय जुनियर वरियतामा पर्न सफल भएका छन् । त्यस्तै, केही खेलाडीले अन्तरराष्ट्रिय प्रतियोगितामा समेत नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।
सङ्घले जुनियर टेनिस प्रशिक्षणलाई व्यवस्थित बनाउँदै विभिन्न विद्यालयमा समेत प्रशिक्षण सञ्चालन गरिरहेको छ । प्रतिभावान् बालबालिकाको पहिचान, गुणस्तरीय प्रशिक्षण र प्रतियोगितामा सहभागिताको अवसरमार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको सङ्घका अध्यक्ष विनोद कायस्थले बताए ।
पोखरालाई टेनिस खेलको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न प्रतियोगिताले सहयोग पुर्याउने विश्वास आयोजकले लिएको छ । यसले नयाँ प्रतिभाको पहिचान र खेलाडीको क्षमता विकासमा समेत योगदान पुग्ने अध्यक्ष कायस्थको भनाइ छ ।
प्रतियोगिताको मुख्य प्रायोजन ट्रयाङक्युलिटी स्पाले गरेको छ । आयोजकका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ । प्रतियोगिताले जुनियर खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्नुका साथै राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक अनुभव हासिल गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।