गण्डकी । पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने) मा भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ ।
पूर्वी खण्ड (जामुने–मुग्लिन) को निर्माण सम्पन्न भई सडक हस्तान्तरणसमेत भइसकेको छ । उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार सडक विस्तार तथा स्तरोन्नतिको काम सकिएपछि अहिले त्रुटि सच्याउने अवधि (डिफेक्ट लायबिलिटी पिरियड–डिएलपी) सुरु भएको छ ।
उनका अनुसार डिएलपी अवधि सकिएपछि थप पाँच वर्षसम्म सडकको मर्मतसम्भारको जिम्मेवारी पनि निर्माण कम्पनीकै हुनेछ ।
कूल ४१.४५ किलोमिटर लामो पूर्वी खण्डमा दमौली र डुम्रे बजार क्षेत्रमा करिब दुई किलोमिटर सडक छ लेनमा विस्तार गरिएको छ भने अन्य क्षेत्रमा चार लेनको सडक निर्माण गरिएको छ । यस खण्डमा साना–ठूला गरी १७ वटा पक्की पुल निर्माण भएका छन् ।
तनहुँको मादी नदीमा निर्माण हुने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत बनिरहेको इन्जिनियर पाण्डेले जानकारी दिए ।
करिब पाँच दशकअघि निर्माण भएको पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नतिको काम २०७८ साल वैशाखदेखि सुरु भएको थियो । पूर्वी खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँमा पाएको थियो ।
यता, पश्चिम खण्ड (पोखरा–जामुने) को काम आगामी मङ्सिरभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पश्चिम खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार निर्माणको अधिकांश काम सकिएको छ । अहिले करिब पाँच किलोमिटर सर्भिस लेन कालोपत्र गर्न बाँकी छ ।
सडकमा रोड मार्किङ गर्ने, ट्राफिक सङ्केत राख्ने तथा सडक सुरक्षासम्बन्धी अन्य कामलाई तीव्रता दिइएको उनले बताए । पोखरा महानगरपालिका–१० स्थित अमरसिंहचोकदेखि सेती पुलसम्म तथा तालचोक र बूढीबजार क्षेत्रमा सर्भिस लेन कालोपत्र गर्ने तयारी भइरहेको छ ।
निर्माण सम्पन्न भएपछि पश्चिम खण्डमा पनि एक वर्षसम्म डिएलपी लागू हुनेछ । त्यसपछि थप पाँच वर्षसम्म सडक मर्मतसम्भारको जिम्मेवारी निर्माण कम्पनीले नै लिनेछ ।
कूल ३८.८८ किलोमिटर लामो पश्चिम खण्डमा १८.५ किलोमिटर सडक छ लेनको बनाइएको छ भने बाँकी क्षेत्रमा चार लेन विस्तार गरिएको छ । सहरी क्षेत्र बढी भएकाले छ लेनको सडक निर्माण गरिएको इन्जिनियर कुँवरले बताए । तनहुँको दुलेगौँडा र खैरेनीटारमा समेत छ लेनको सडक बनेको छ ।
यस खण्डमा निर्माण गर्नुपर्ने १३ पुलमध्ये १२ वटाको काम सम्पन्न भएको छ । पोखराको सेती नदीमाथि बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको छ ।
तनहुँको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्ड निर्माणका लागि २०७८ साल जेठ २ गते सम्झौता भएको थियो । सोही वर्ष भदौ १२ गतेदेखि निर्माण सुरु गरिएको उक्त खण्डको ठेक्का चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा पाएको थियो ।
कूल ८१ किलोमिटर दूरीको पोखरा–मुग्लिन सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नति गरिएको हो । सरकारको प्राथमिकताप्राप्त यस आयोजनाले सुरुका चरणमा अपेक्षित गति लिन नसकेपछि पोखराका पर्यटन व्यवसायी तथा स्थानीयले निर्माणमा ढिलासुस्ती नगर्न दबाब दिँदै आएका थिए ।
सडक स्तरोन्नतिसँगै गण्डकी प्रदेशको राजधानी पोखरासम्मको यातायात सेवा सहज बनेको छ । काठमाडौँ, चितवनलगायत क्षेत्रबाट पोखरा आवतजावत गर्ने यात्रुले अब फराकिलो चार लेनको सडक प्रयोग गर्न पाएका छन् । निर्माणका क्रममा धुलो र हिलोका कारण सास्ती खेप्दै आएका सर्वसाधारण तथा पर्यटकलाई पनि राहत मिलेको छ ।
सडक विस्तारसँगै पोखराका अमरसिंहचोक, अर्घौंचोक, बुद्धचोक र तालचोकलगायत व्यस्त चोकहरू फराकिला र व्यवस्थित बनेका छन् । मापदण्डविपरीत निर्माण गरिएका संरचना हटाएर सडक तथा चोकको क्षेत्र विस्तार गरिएको छ । यसले पोखराको सहरी सौन्दर्यसँगै आर्थिक तथा पर्यटकीय गतिविधि बढाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।